धनगढी, ८ मंसिर । धनगढीस्थित चैतन्य पाठशालामा शनिवार सम्पन्न ‘तेस्रो जिल्ला स्तरीय स्क्र्याबल प्रतियोगिता’ तथा ‘दशौँ एसक्यूसी सम्मेलन’ मा कञ्चनपुरको बेलौरीस्थित वात्सल्य विद्या निकेतनले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र डोटीका गरी १३ विद्यालय सहभागी भएका थिय।

विद्यार्थीहरूको तार्किक क्षमता, विश्लेषण र प्रस्तुति कौशल अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वात्सल्य विद्या निकेतनका विद्यार्थीहरूले स्क्र्याबल (शब्द खेल) र एसक्यूसी (विद्यार्थी गुणस्तर चक्र) अन्तर्गतका विभिन्न विधामा आफ्नो प्रस्तुति दिएका थिए।

उक्त प्रतियोगितामा स्क्र्याबलतर्फ वात्सल्य विद्या निकेतनका विलक्षण पौडेल प्रथम, सोही विद्यालयका अनुराग विष्ट द्वितीय र ब्राइट वे पब्लिक स्कुलका निखिल रोकाया तृतीय भएका छन्।उत्कृष्ट शब्द चयनमा एरिस्टो माध्यमिक विद्यालयका शैलेश खड्का पुरस्कृत भएका थिए । यस नतिजासँगै प्रथम र द्वितीय स्थान हासिल गरेका विलक्षण पौडेल र अनुराग विष्ट सुदूरपश्चिम प्रदेशबाट छनोट हुँदै हेटौडामा आयोजना हुने ‘राष्ट्रिय स्क्र्याबल प्रतियोगिता’ मा सहभागी हुन योग्य भएका छन्।

यसै अवसरमा चैतन्य पाठशालाद्वारा आयोजित ‘एमयुएन स्टाइल डिबेट (MUN Style Debate)’ प्रतियोगितामा पनि वात्सल्य विद्या निकेतनका विद्यार्थीले उत्कृष्ट नतिजा निकालेका छन्। डिबेटमा ‘विपक्ष (Against the Motion)’ तर्फबाट तर्क प्रस्तुत गर्दै वात्सल्यका लोकेन्द्र जोशी सर्वोत्कृष्ट भई प्रथम स्थान हासिल गर्न सफल भए।

सम्मेलनमा सहभागी ७ वटा एसक्यूसी हबका विद्यार्थीहरूले आ–आफ्नो विद्यालयमा आधारित ‘केस–स्टडी’ प्रस्तुत गरेका थिए। जसमा विज्ञ यज्ञराज पाण्डेले विद्यार्थीहरूको प्रस्तुतिमाथि सुझाव र प्रतिक्रिया दिएका थिए। यस्तै, डिबेट सेसनमा कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक सीताराम भट्ट र उप–प्राध्यापक हेमा उप्रेतीले निर्णायकको भूमिका निर्वाह गरेका थिए।





