काठमाडौँ। नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएको असन्तुष्ट समूहले आज राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शक्ति प्रदर्शन गरेको छ। पार्टीको विधान र प्रक्रिया मिचिएको भन्दै विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर अभियान चलाएको यस समूहले आजको भेलामा कुल महाधिवेशन प्रतिनिधिको ५४ प्रतिशत हिस्सा सहभागी रहेको दाबी गरेको छ।
पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सभामा बोल्दै वक्ताहरूले वर्तमान नेतृत्वले नियोजित रूपमा महाधिवेशन टार्न खोजेको गम्भीर आरोप लगाए। सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीका केही उच्च पदाधिकारीहरू नै महाधिवेशन रोक्ने खेलमा लागेको बताए। उनले नेतृत्वलाई सचेत गराउँदै भने, “अहिलेको अवस्थामा महाधिवेशनको विकल्प छैन, यसलाई पन्छाउन खोजिए पार्टीका लागि दुर्भाग्य हुनेछ।”
सोही कार्यक्रममा बोल्दै अर्का नेता गुरुराज घिमिरेले संस्थापन पक्षप्रति कडा आक्रोश व्यक्त गरे। विशेष महाधिवेशनका लागि पार्टीका इमानदार कार्यकर्ताले गरेको हस्ताक्षरलाई संस्थापन पक्षले ‘नक्कली’ भनी टिप्पणी गरेको सन्दर्भमा घिमिरेले त्यसको प्रतिवाद गरे। उनले भने, “बिसौँ वर्ष सत्ताको चास्नीमा डुबेकाहरूलाई पार्टीका सच्चा योद्धाको हस्ताक्षरलाई नक्कली भन्ने कुनै नैतिक अधिकार छैन।”
आजको भेलामा देखिएको उपस्थिति र नेताहरूको अभिव्यक्तिले काँग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको देखिएको छ। विशेष महाधिवेशन पक्षधरको यो दाबी र शक्ति प्रदर्शनपछि पार्टी नेतृत्वले कसरी सम्बोधन गर्छ भन्ने विषय अबको चासो बनेको छ।





