लेखक: कमला बोहरा (केन्द्रीय सदस्य, नेकपा एमाले)
मेरो हजुरबुवा स्व. प्रताप सिंह बोहरा (बझाङ्गी मुखिया) बझाङ जिल्लामै हुँदा तालुकदार मुखिया हुनुहुन्थ्यो। उहाँ २०१७ सालमा दोधारा चाँदनीको आमभोजमा बसाइँ सरी आउनुभयो। त्यहाँ महाकाली नदीको समस्याका कारण २०२० सालतिर हालको महेन्द्रनगरको ऐठपुर बसाइँ सर्नुभयो। त्यहाँको पनि छोटो बसाइँपश्चात २०२३ वि.सं. मा तत्कालीन कञ्चनपुरको सदरमुकाम बेलौरी बजार आएदेखि निरन्तर मेरो बुवा–आमा दुवैको शैशवकालदेखि मेरो जन्मभूमि बेलौरी हो।
यो बेलौरी बजारको स्थापना गर्नेदेखि यो क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरूको जग बसाउने संस्थापक मेरो हजुरबुवा हो, मलाई गर्व छ।
मैले मेरो हजुरबुवाकै बिर्तामा बनेको, मेरो बुवाको जीवनभरको कमाइले बनेको सामान्य घरमा बसेर सामान्य तहको जीविकोपार्जन गरिरहेकी छु। मैले राजनीतिक-सामाजिक जीवनमा कुनै भ्रष्टाचार, अनियमितता, अमानवीयता, गुण्डागर्दी वा हालीमुहाली गरेकी छैन।
विवाह र कर्मथलोको बहस
मैले कोहलपुर निवासी मेरा जीवनसाथी कमल बस्नेतजीसँग २०७३/०१/१० गते सामाजिक विवाह गरेकी हुँ र हामीबाट १ छोरा छन्। यो ऊर्जावान् र युवाशील समय म मेरो समाज र देश बनाउने हुटहुटी बोकेर, सेवा भाव मात्रै राखेर निरन्तर जनताको माझमा हिँडिरहेकी छु।
जीवनका हरेक कठिनाइहरू पार गर्न एकलरूपमा लागेकी छु। श्रीमान्को साथ, समर्थन र उच्च त्यागसँगै परिवारको विश्वास र मायाका कारण म बुहारी नभई छोरीको दर्जामा छु र आफ्नो कर्मथलोमा प्रतिबद्ध छु।
तपाईं महाशयको ‘भालेवादी चिन्तन’ र छोरीको बिहेपछि पराई घर जाने जात भन्ने निम्न र पितृसत्तात्मक सोचले तपाईंको छोरीप्रतिको होइन, सिंगो समाजप्रतिको दृष्टिकोण नै कति गरिब र तुच्छ छ भन्ने प्रमाणित हुन्छ।
“हेक्का राख्नुहोस्, लिंगको आधारमा छोरीको घर र थर खोज्ने तपाईंलाई कुनै अधिकार छैन।”
आज विश्वव्यापीकरणले सिंगो विश्वलाई एउटा घर मानिसक्यो। दुनियाँको भ्रमण छिनभरमै गर्ने रकेट बनाइसक्यो। तपाईं मेरो ‘पोइली घर’ कहाँ भन्ने विषय बनाउनुहुन्छ? विचरा, मलाई दया लाग्छ।
याद गर्नुस्, म एक नेपाली नागरिक हुँ। वंशजको नागरिकता बोकेको नागरिकले देशको जुनसुकै कुनामा गएर बस्न पाउने, राजनीति गर्न पाउने, व्यवसाय गर्न पाउने अधिकार राख्छ। म जहाँ बस्छु, त्यहीँ मेरो घर हो।
नडराउनुस्, तपाईंको बाउको बिर्ता खोस्न चाहिँ म आउँदिन। मेरा बाको आफ्नै मेहनतको जगमा, इमानदारिताको महलमा बस्छु; यही मेरा लागि स्वर्ग हो।
मलाई बुढा भएका सासु-ससुरा रुपी आमा-बुवाको सेवा गर्न नपाउँदा कहिलेकाहीँ भक्कानो फुटेर आउँछ। छोराको आमासँग बस्ने, रमाउने, आमाले पकाएको तातो खाना खान पाउने जस्ता उसका नैसर्गिक अधिकार खोस्न बाध्य भएकोमा मरेतुल्य हुन्छु। मेरी एकल आमालाई एक्लै घर सम्हाल्नु पर्दा भएको समस्याले हृदय दुखाउँछ। तर म विश्वस्त छु, रात ढल्नेछ अनि बिहानी पक्कै हुनेछ।
मलाई छोरी, बुहारी र आमा बन्ने सौभाग्य दिलाउने मेरो नारीत्वमा सदा गर्व छ। मलाई मेरो देश र मेरो गाउँ प्राणभन्दा प्यारो लाग्छ।
“कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धी” ।।
सम्पादकीय नोट: नेकपा एमालेकी केन्द्रीय सदस्य कमला बोहराले आफ्नो पारिवारिक पृष्ठभूमि र महिलाको राजनीतिक अधिकारबारे सामाजिक सञ्जालमा व्यक्त गरेको धारणालाई यहाँ प्रस्तुत गरिएको छ। यो लेखकको निजी विचार हो। – सम्पादक





