डिजेल, मट्टीतेलको भाउ घट्यो, हवाई इन्धन महँगियो; नयाँ मूल्यसूची मध्यरातदेखि लागू

काठमाडौ।  नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक तथा अन्तर्राष्ट्रिय) को मूल्य बढाएको छ।

भारतबाट नयाँ मूल्यसूची प्राप्त भएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको हो। समायोजनअनुसार, डिजेल र मट्टीतेलको साविकको मूल्यमा एक रुपैयाँ घटाइएको छ। यता, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले बढाइएको छ।

पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।

नयाँ मूल्य देशभरका विभिन्न स्थानमा वर्गीकरणअनुसार लागू हुनेछ। निगमले आपूर्ति सहजताका आधारमा देशका स्थानहरूलाई तीन वर्गमा विभाजन गरेको छ:

  • प्रथम वर्ग: चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब डिजेल मट्टीतेलको प्रतिलिटर खुद्रा मूल्य १४३ रुपैयाँ ५० पैसा कायम भएको छ।

  • द्वितीय वर्ग: सुर्खेत र दाङ क्षेत्रमा प्रतिलिटर १४५ रुपैयाँ पर्नेछ।

  • तृतीय वर्ग: काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा डिजेल मट्टीतेलको प्रतिलिटर मूल्य १४६ रुपैयाँ तोकिएको छ।

हवाई इन्धनतर्फ, आन्तरिक उडानका लागि प्रतिलिटर एक सय ३४ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रियतर्फ भने प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर १०१४, पोखरामा डलर ८४२ र भैरहवामा डलर ८२९ निर्धारण गरिएको छ। यस मूल्य समायोजनले सर्वसाधारणलाई डिजेल मट्टीतेलमा थोरै राहत पुगे पनि आन्तरिक हवाई भाडामा भने असर पर्न सक्ने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ