कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ को औपचारिक घोषणा: पाँच तहको संरचना, उद्यमीदेखि विज्ञसम्मलाई समेट्ने नीति

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रहिसेकका तथा हालका मन्त्री कुलमान घिसिङ संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ ले पाँच तहको सांगठनिक संरचनासहित आफ्नो राजनीतिक यात्रा औपचारिक रूपमा सुरु गरेको छ। बुधबार विधिवत रूपमा घोषणा गरिएको पार्टीको घोषणापत्रमा संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहमा आधारित संरचना बनाउने उल्लेख छ। घोषणापत्र अनुसार सङ्घ र प्रदेशको संरचनामा भौगोलिक, गैर–भौगोलिक र समावेशी समूह विभाजन गरेर अघि बढ्ने नीति पार्टीले लिएको छ।

पार्टीले ‘सङ्गठन संरचना र कार्यप्रणाली’ मार्फत सैद्धान्तिक स्पष्टता, नेपालको उज्यालो भविष्य निश्चित गर्ने राजनीतिक कार्यक्रम एवं नयाँ सङ्गठन संरचनासहित नेपाली विशेषताको सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माण गर्ने लक्ष्य राखेको छ। जनसंघर्ष र बलिदानको गर्वपूर्ण इतिहास बोकेका पुराना राजनीतिक दलहरू सत्ता सञ्चालनमा असफल भएको निष्कर्ष निकाल्दै पार्टीले समाजको चेतनास्तर र चिन्तन प्रणालीलाई मध्यनजर गरी परिणाममुखी सङ्गठन संरचना अपनाउने जनाएको छ। पार्टी संरचना र सदस्यहरूले चुनावमा गरिने प्रतिवद्धतापत्र कार्यान्वयन गर्ने साधनको रूपमा काम गर्ने दाबी घोषणापत्रमा गरिएको छ।

परम्परागत दलहरूभन्दा फरक शैली अपनाउने सङ्केत गर्दै उज्यालो नेपाल पार्टीले समाजका आधारभूत कर्ताहरूको यथार्थ विश्लेषण गरी उनीहरूलाई वडा तहबाटै सङ्गठित गर्ने बताएको छ। पार्टीले उत्पादक तथा व्यापार उद्यमी, निर्माण व्यवसायी, सामाजिक सङ्घसंस्था, अवकाशप्राप्त खेलाडी तथा प्रशिक्षक, निजी क्षेत्रका कर्मचारी, विश्वविद्यालयका प्राध्यापक, स्नातकदेखि विद्यावारिधिसम्मका विद्यार्थी, अवकाश प्राप्त राष्ट्रसेवक, सहिद परिवार, पूर्वजनप्रतिनिधि, विषयगत विज्ञ तथा विदेशमा कार्यरत नेपालीहरूलाई आफ्नो आधारभूत संरचनामा समेट्ने नीति लिएको छ। यस्ता व्यक्तिहरूको अभिलेख वडा तहले व्यवस्थापन गर्ने र उनीहरूलाई पार्टीको आधारभूत तहमा नै प्रतिनिधित्व गराउने विषयलाई घोषणापत्रमा प्राथमिकताका साथ उठाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ