महाधिवेशनको तयारीमा जुट्यो काँग्रेस: दुई दिनभित्रै देशभर नयाँ क्रियाशील सदस्यता फारम पुर्‍याइने

काठमाडौं । नेपाली काँग्रेसले आगामी महाधिवेशनलाई लक्षित गर्दै सङ्गठन विस्तारलाई तीव्रता दिने भएको छ। पार्टीले आगामी  दुई दिनभित्रै देशभरका आफ्ना तल्ला निकायहरूमा नयाँ क्रियाशील सदस्यता फारम पुर्‍याउने निर्णय गरेको हो। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले फारम वितरण प्रक्रियालाई तत्काल अघि बढाउने निष्कर्ष निकालेको हो।

यसअघि काँग्रेसले पुराना क्रियाशील सदस्यहरूको नवीकरण कार्य सुरु गरे पनि नयाँ सदस्यता वितरणको काम भने रोकेको थियो। तर, आगामी पुस २६ देखि २८ गतेसम्म पार्टीको महाधिवेशन मिति तय भएसँगै नेतृत्वले नयाँ सदस्यता वितरणलाई प्राथमिकतामा राखेको छ। महाधिवेशनको मिति नजिकिँदै जाँदा समयको चापलाई मध्यनजर गर्दै पार्टीले फारम वितरण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन लागेको हो।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीका अनुसार अबको दुई दिनभित्रै सबै जिल्ला तथा स्थानीय तहका पार्टी संरचनामा नयाँ क्रियाशील सदस्यता फारम पुगिसक्नेछ। यस अभियानलाई प्रभावकारी बनाउन र आवश्यक समन्वय गर्नका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सबै भ्रातृ संस्थाका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम समेत तय गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ