बेलौरी मेयर कप: मैदानभित्रै खेलाडीको नाक भाँचिने गरी कुटपिट, फुटबल संघ भन्छ– ‘समन्वय विनै मनपरी प्रतियोगिता गरियो’

बेलौरी, कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिकामा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता हिंसात्मक घटनाका कारण विवादमा तानिएको छ। कञ्चनपुर जिल्ला फुटबल संघका अनुसार गत १८ गते वडा नम्बर १ र १० बीच भएको सेमिफाइनल खेल चलिरहँदा अनधिकृत रूपमा मैदानभित्र प्रवेश गरेका व्यक्तिहरूको समूहले वडा नम्बर १० का खेलाडी करन पालमाथि कुटपिट गरेको हो। आक्रमणबाट गम्भीर घाइते भएका पालको नाकको हड्डी भाँचिएको छ।

आक्रमणबाट नाकको हड्डी भाँचिएपछि अस्पतालमा उपचाररत बेलौरी वडा नं. १० का खेलाडी करन पाल

घाइतेका दाइ सुनिल पालले ‘कञ्चन आवाज’ लाई दिएको जानकारी अनुसार करनको नाकको शल्यक्रिया गरिएको छ र हाल उनको अवस्था गम्भीर तर स्थिर रहेको छ। अस्पतालको बेडबाट प्राप्त तस्बिरमा समेत करनको अनुहार सुन्निएको र आँखामा निलडाम सहित नाकमा गम्भीर चोट लागेको देखिन्छ।

यसैबीच, कञ्चनपुर जिल्ला फुटबल संघले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको घोर निन्दा गरेको छ भने प्रतियोगिताको सञ्चालन प्रक्रियामाथि नै गम्भीर प्रश्न उठाएको छ। संघका महासचिव नितेश रावलद्वारा जारी विज्ञप्तिमा बेलौरी नगर खेलकुद समितिले जिल्ला संघसँग कुनै आधिकारिक जानकारी वा समन्वय नगरी “आफ्नै मनपरी ढङ्गले” प्रतियोगिता सञ्चालन गरेको उल्लेख छ। संघले खेल चलिरहेको अवस्थामा फिल्डभित्र प्रवेश गरी गरिएको आक्रमणलाई ‘आपराधिक र साङ्घातिक’ भन्दै यसले खेल भावना र खेलाडीको सुरक्षामा गम्भीर चुनौती खडा गरेको जनाएको छ। साथै, संघले घाइते खेलाडी करन पालको सम्पूर्ण उपचार खर्च आयोजक र आक्रमणकारीले व्यहोर्नुपर्ने माग समेत गरेको छ।

यता घटनाको विषयमा प्रतिक्रिया लिन ‘कञ्चन आवाज’ ले बेलौरी नगर खेलकुद समितिका अध्यक्ष रामेश्वर न्यौपानेसँग सम्पर्क गर्दा उहाँले यस विषयमा कुनै प्रतिक्रिया दिन मान्नुभएन। उहाँले घटना र विवादबारे बोल्न इन्कार गर्दै पन्छिन खोज्नुभएको छ। स्थानीय सरकारको लगानीमा भइरहेको प्रतिष्ठित प्रतियोगितामा खेलाडीको सुरक्षामा कमजोरी देखिनु र नियमक निकायसँग समन्वय नहुनुले स्थानीय खेल क्षेत्रमा नै निराशा छाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ