सुशासन र वैकल्पिक राजनीतिको खोजीमा ‘जेन–जी’, आन्दोलनको म्यान्डेट पूरा गर्ने जिम्मा नागरिकको काँधमा

घोराही (दाङ) — दाङको घोराहीमा शनिबार आयोजित ‘जेन–जी आन्दोलनपछि बदलिँदो चेतना’ विषयक अन्तर्क्रियामा युवा अगुवाहरूले सुशासन र वैकल्पिक राजनीतिको आवश्यकता औंल्याएका छन् । आन्दोलनले सिर्जना गरेको राजनीतिक चेतनालाई संस्थागत गर्न सरकारसँगै नागरिक पनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा वक्ताहरूले जोड दिए ।

कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै जेन–जी अगुवा रक्षा बमले आन्दोलनको म्यान्डेट पूरा गर्ने अभिभारा सरकारको मात्र नभई आम नागरिकको पनि भएको बताइन् । “यो स्थिति हामीले बोक्नुपर्छ । आन्दोलनको म्यान्डेट पूरा गर्ने जिम्मा सरकारसँग मात्रै होइन, प्रत्येक नागरिकसँग छ,” उनले भनिन्, “हाम्रो पुस्ता सडकमा प्रश्न लिएर उत्रिएको हो, ती प्रश्न आज पनि उत्तरसहित पूरा भएका छैनन् ।” आफूहरू सरकारसँग नजिक भएको भन्ने टिप्पणीबारे स्पष्ट पार्दै उनले यो नागरिक सरकार भएकाले नागरिककै प्रतिनिधिको रूपमा म्यान्डेट पूरा गराउन आफूहरू निरन्तर खबरदारी र दौडधुपमा रहेको जिकिर गरिन् ।

सोही छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता विशाल अधिकारीले जेन–जी आन्दोलनलाई संस्थागत गर्न र युवाका माग सम्बोधन गर्न वैकल्पिक शक्तिहरूको ध्रुवीकरण अपरिहार्य रहेको तर्क गरे । आन्दोलनपछि युवामा बढेको राजनीतिक चेतना वैकल्पिक राजनीतिक शक्तिको निर्माण र सुदृढीकरणसँग घनिष्ठ रूपमा जोडिएको उनको भनाइ थियो ।

यस्तै, इन्जिनियर सागर ढकालले तीन महिनाअघि गठन भएको अन्तरिम सरकारले केही क्षेत्रमा सुधारको संकेत देखाए पनि मुलुकको प्रणालीगत समस्या ज्यूँका त्यूँ रहेको टिप्पणी गरे । “७५ वर्षको लोकतन्त्रमा एउटा पनि सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न सकेन,” ढकालले भने, “योग्यतामा नभई पहुँच र पैसामा आधारित नेतृत्व हाबी हुँदा देशले अहिलेको दुर्दशा भोग्नुपरेको हो ।” उनले आगामी निर्वाचनमा भ्रष्टाचारविरुद्धको स्पष्ट एजेन्डा, ‘आइ–भोटिङ’ जस्ता डिजिटल सुधार र योग्यतामा आधारित नेतृत्वको मोडल अघि सारेर मात्र वैकल्पिक शक्तिले जनताको भरोसा जित्न सक्ने विचार व्यक्त गरे ।

छलफलमा सहभागी वक्ताहरूले अबको राजनीति परम्परागत शैलीबाट माथि उठेर युवाहरूको आकांक्षा र प्रविधिमैत्री सुशासनको मागअनुसार चल्नुपर्ने निष्कर्ष निकालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ