बेलौरी, कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा जारी मेयर कप फुटबल प्रतियोगिताका क्रममा राष्ट्रिय स्तरका खेलाडी करन पालमाथि भएको साङ्घातिक आक्रमणको घटनाले उग्र रूप लिएपछि आयोजक बेलौरी नगर खेलकुद समितिले घटनाको दुई दिनपछि आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ। प्रतियोगिताको व्यवस्थापन र सुरक्षा कमजोरीलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरू घटनाप्रति स्तब्ध भएको र दोषीलाई कुनै पनि हालतमा कारबाही हुनुपर्ने स्पष्ट पारेको छ। समितिका पदाधिकारीहरूले घटनालाई ‘नघट्नुपर्ने अप्रिय र आकस्मिक घटना’ को संज्ञा दिँदै आफूहरू पनि पीडित पक्षसँगै न्यायको पक्षमा उभिएको बताएका छन्।

समितिका तर्फबाट बोल्दै अध्यक्ष रामेश्वर न्यौपानेले खेल मैदानमा १२ देखि १५ जनाको सङ्ख्यामा नेपाल प्रहरीको उपस्थिति हुँदाहुँदै पनि खेलाडीहरूको आपसी विवाद एकाएक हिंसात्मक झडपमा परिणत भएको दाबी गर्नुभएको छ। उहाँले आफूहरूले प्रतियोगिता सुरु हुनु अगावै इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको बेस क्याम्पलाई पत्राचार गरी सुरक्षा र अतिथि आसन ग्रहणका लागि अनुरोध गरेको भन्दै सुरक्षा व्यवस्थामा आफूहरूले कुनै कसर बाँकी नराखेको जिकिर गर्नुभयो। घटनालगत्तै समितिका पदाधिकारीहरूले इलाका प्रहरी कार्यालय पुगेर दोषीमाथि कारबाहीको माग गरेको र धनगढीस्थित अस्पतालमै पुगेर घाइते खेलाडी करन पाल, उहाँकी आमा र दाइ सुनिल पालसँग भेट गरेको जानकारी समेत पत्रकार सम्मेलनमा दिइएको छ। अस्पतालमा भेट्दा करन बोल्न नसक्ने अवस्थामा रहेको र उनले टाउको हल्लाएर मात्र प्रतिक्रिया दिएको भावुक वृत्तान्त सुनाउँदै आयोजकले घाइतेको उपचारमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

आयोजकले आफ्नो बचाउ गरिरहँदा स्थानीय स्तरमा भने आक्रोश मत्थर भएको छैन। ‘Gen-Z बेलौरी तथा समर्थक’ समूहले एक विज्ञप्ति जारी गर्दै खेल मैदानमै खेलाडीको ज्यान जोखिममा पर्नेगरी भएको हिंसात्मक आक्रमण ‘अत्यन्तै दुःखद, निन्दनीय र अमानवीय’ भएको ठहर गरेको छ। संयोजक केशव कुमार बोहराद्धारा हस्ताक्षरित विज्ञप्तिमा कमजोर सुरक्षा व्यवस्थाका कारण खेलाडी असुरक्षित हुनुले समग्र खेल क्षेत्र र युवाको मनोबलमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै दोषीलाई यथाशीघ्र पहिचान गरी कडा कारबाही गर्न माग गरिएको छ। त्यस्तै बेलौरी वडा नं. १० का युवाहरूको समूहले नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै खेलकुद समितिको व्यवहारले यस्तो दुर्घटना निम्तिएको भन्दै वर्तमान नगर खेलकुद समिति नै खारेज गर्नुपर्ने कडा माग अघि सारेका छन्।

यसैबीच, घाइते खेलाडी करन पालको अवस्था बुझ्न कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का लगायत कञ्चनपुर जिल्ला रेफ्री संघ को टोली अस्पताल पुगेको छ। अध्यक्ष खड्काले खेल मैदानभित्रै खेलाडीमाथि भएको आक्रमण केवल एक व्यक्तिमाथिको चोट नभई सिङ्गो खेल जगतमाथिको प्रहार भएको भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग गर्नुभएको छ।
घाइते खेलाडी करन पालको नाकको शल्यक्रिया भइसकेको छ र उनी अहिले पनि धनगढीमा उपचाररत छन्।





