एमालेको ११औँ महाधिवेशन तयारी अन्तिम चरणमा, व्यवस्थापन समितिको बैठक सम्पन्न

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आगामी ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको ११औँ राष्ट्रिय महाधिवेशन व्यवस्थापन समिति सचिवालयको बैठकले तयारीको समग्र समीक्षा गर्दै कामहरू सन्तोषजनक ढंगले निष्कर्षमा पुग्न लागेको ठहर गरेको हो ।

एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार, बैठकमा महाधिवेशनको विस्तृत व्यवस्थापन, देशभरबाट आउने प्रतिनिधिहरूको सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे विस्तृत छलफल भएको थियो । महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन गठन गरिएका १३ वटा विभिन्न उपसमितिहरूले आ–आफ्नो जिम्मेवारी अनुरुपका कार्यप्रगति विवरण बैठकमा पेस गरेका थिए । ती प्रतिवेदनहरूको विश्लेषणपछि तयारीका कामहरू प्रभावकारी रूपमा अघि बढेको र अब अन्तिम रूप दिने चरणमा रहेको निष्कर्ष निकालिएको छ ।

पार्टीले महाधिवेशन सम्पन्न गर्नका लागि युद्धस्तरमा काम भइरहेको जनाएको छ । तयारीका बाँकी कामहरूलाई पूर्णता दिन र अन्तिम निर्णय लिन व्यवस्थापन समिति सचिवालयको अर्को बैठक आगामी मंसिर २५ गते बस्ने तय भएको छ । सचिव ढुङ्गेलले सम्भवतः मंसिर २५ गते बस्ने उक्त बैठक नै व्यवस्थापन सचिवालयको अन्तिम बैठक हुने जानकारी दिए ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर २७ गतेदेखि सुरु हुँदैछ । देशको प्रमुख राजनीतिक शक्तिमध्येको एक एमालेको यस महाधिवेशनलाई राष्ट्रिय राजनीतिमा निकै महत्त्वका साथ हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ