बेलौरी मेयर कप घटनाप्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण: समितिबारे ‘क्याबिनेट’ बाट निर्णय लिन्छौँ’

कञ्चन आवाज संवाददाता, बेलौरी, कञ्चनपुर। बेलौरीमा भएको मेयर कप फुटबल प्रतियोगिताका क्रममा खेलाडीमाथि भएको आक्रमणको घटनापछि बेलौरी नगरपालिकाका प्रवक्ता एवं कार्यवाहक नगर प्रमुख हर्क बहादुर भूलले घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कारबाहीका लागी जोडदार माग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार ‘कञ्चन आवाज’ सँग कुरा गर्दै कार्यवाहक नगर प्रमुख भूलले घटनाको विषयमा पीडित पक्षबाट किटानी जाहेरी दर्ता भइसकेको र आफूले आज बिहान मात्रै इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरसँग कुरा गर्दा प्रहरीले तदारुकताका साथ खोजी कार्य अगाडि बढाइसकेको जानकारी पाएको बताउनुभयो।

नगर प्रमुख र उपप्रमुख कार्यालयको कामले काठमाडौँ रहनुभएको जानकारी दिँदै कार्यवाहक प्रमुख भूलले आफू स्वयं धनगढीस्थित माया मेट्रो अस्पताल पुगेर घाइते खेलाडी करन पालको स्वास्थ्य अवस्था बुझेको बताउनुभयो। अस्पतालमा घाइते खेलाडी को स्वास्थ्यमा क्रमिक सुधार हुदै गरेको प्रतिक्रिया दिएको सुनाउँदै उहाँले यस दुःखद घडीमा नगरपालिका पीडित परिवारको साथमा रहेको र उपचार तथा न्यायको सवालमा अभिभावकत्व ग्रहण गर्ने स्पष्ट पार्नुभयो। उहाँले खेल मैदानमा प्रहरीको उपस्थिति हुँदाहुँदै पनि खेलाडीहरूको आपसी विवाद एकाएक हिंसात्मक झडपमा परिणत भएको र त्यो रोक्न खोज्दाखोज्दै पनि नसकिएको बताउनुभयो।

स्थानीय स्तरमा खेलकुद समितिको लापरबाहीले घटना घटेको भन्दै समिति खारेजीको माग उठिरहेको विषयमा कार्यवाहक नगर प्रमुख भूलले आफू अहिले कार्यवाहक जिम्मेवारीमा रहेकोले एक्लै निर्णय गर्न नसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “खेलकुद समिति र यसको व्यवस्थापनका लापरवाहीका विषयमा उठेका प्रश्नहरू र खारेजीका मागहरू लगायतका तमाम विषयलाई म नगरपालिकाको कार्यपालिका बैठक (क्याबिनेट) मा पेस गर्छु। त्यहीँबाट छलफल भई संस्थागत निर्णय हुनेछ।” उहाँले घटना नघट्नुपर्ने अप्रिय भएको स्वीकार गर्दै नगरपालिकाले नगर स्तरीय बलियो फुटबल टिम निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको तर अनपेक्षित दुर्घटना भएको जिकिर गर्नुभयो।

साथै, उहाँले ‘Gen-Z बेलौरी’ लगायतका युवा समूहले खबरदारी गर्दै निकालेको विज्ञप्तिलाई आफूले सकारात्मक रूपमा लिएको बताउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ