काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै उखु क्रसिङको सिजन सुरु हुनै लाग्दा किसान र उद्योगीबीच देखिने मूल्य विवाद अन्त्य हुने अपेक्षा गरिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार, सरकारले उखु किसानलाई प्रोत्साहन स्वरूप प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद्ले गरेको यो निर्णयले कञ्चनपुर लगायत सुदूरपश्चिम र तराईका उखु उत्पादक किसानहरूलाई ठुलो राहत पुग्ने विश्वास लिइएको छ । सरकारले तोकेको यो मूल्य र अनुदानको व्यवस्था तत्काल कार्यान्वयनमा आउने मन्त्री खरेलले जानकारी दिएका छन् ।





