कञ्चनपुर–१ मा चुनावी सरगर्मी : उम्मेदवार सिफारिसका लागि कांग्रेसको निर्णायक बैठक आह्वान

बेलौरी, कञ्चनपुर । आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन नजिकिएसँगै कञ्चनपुरको दक्षिणी क्षेत्रमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले उम्मेदवारहरूको नाम सिफारिस गर्न र चुनावी रणनीति तय गर्न बुधबार (मंसिर २४ गते) एक विशेष संयुक्त बैठक आह्वान गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र अनुसार, फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार छनौट प्रक्रिया अघि बढाउन लागिएको हो। क्षेत्रीय सचिव बिसराम रानाद्वारा हस्ताक्षरित पत्र अनुसार, पार्टीको विधानको धारा ३२ (८) (क) बमोजिम उम्मेदवार सिफारिस गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेकाले यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ।

बेलौरी नगरपालिका ५, भकुन्डास्थित श्री कालेश्वर महादेव मन्दिरको प्राङ्गणमा बिहान ठिक ९ बजे बस्ने उक्त बैठकमा यस क्षेत्रभित्रका केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश अधिवेशन प्रतिनिधि र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ।

यस बैठकबाट आउने निष्कर्षले कञ्चनपुर क्षेत्र नम्बर १ को आगामी राजनीतिक समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ भने उम्मेदवार बन्न चाहने आकांक्षीहरूबीचको रस्साकस्सी समेत सतहमा आउने अनुमान गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ