बैतडी । नेपाली कांग्रेस बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । सदरमुकाममा सम्पन्न जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठकले जिल्ला सभापति एवं नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
पार्टीको केन्द्रीय निर्देशनअनुसार सहमतिको प्रयास गरिए पनि निष्कर्षमा पुग्न नसकेपछि लोकतान्त्रिक विधिमार्फत मतदान प्रक्रिया अपनाइएको थियो । जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि गरी बैठकमा उपस्थित ८२ जनामध्ये ७३ जनाले मतदान प्रक्रियामा भाग लिएका थिए । कांग्रेस जिल्ला सचिव देवराज जोशीका अनुसार, उक्त आन्तरिक मत सर्वेक्षणमा जिल्ला सभापति चन्दले खसेको कुल ७३ मत नै प्राप्त गरी शतप्रतिशत समर्थनसहित पहिलो नम्बरमा सिफारिस भएका छन् ।
प्रत्यक्षतर्फको उम्मेदवारका लागि ६ जना आकांक्षीबीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार विष्णुदत्त जोशीले ४५ मत, महाधिवेशन प्रतिनिधि उत्तरबहादुर ऐरले ६ मत, जिल्ला उपसभापति वीरबहादुर बिष्टले ४ मत र प्रदेश सदस्य तेजबहादुर चन्दले ३ मत प्राप्त गरेका छन् भने नरबहादुर चन्दले कुनै मत प्राप्त गर्न सकेनन् । मतदान प्रक्रियामा एक महिलासहित तीन जनालाई मत दिनुपर्ने व्यवस्था गरिएको थियो । महिलातर्फ भने जानकी भट्ट एक्ली दाबेदार रहेकीले उनलाई निर्विरोध सिफारिस गरिएको छ ।
त्यस्तै, समानुपातिकतर्फको प्रतिस्पर्धामा कान्ता चन्दले ४५ मत र देवु ठगुन्नाले २५ मत प्राप्त गरेका छन् । समानुपातिकतर्फ खसेका मतमध्ये ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । यसका साथै, राष्ट्रिय सभा सदस्यका लागि जिल्लाबाट लोकराज अवस्थी, सुरेन्द्र चन्द र प्रताप ठगुन्नाको नाम सिफारिस गरिएको छ ।
मत विभाजनको जिम्मेवारी सम्हालेका नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष गणेशसिंह भण्डारीले सहमतिका लागि लामो प्रयास गरिए पनि कुनै आधार नदेखिएपछि केन्द्रको परिपत्र र निर्देशनबमोजिम नै मत विभाजन प्रक्रिया अघि बढाइएको जानकारी दिए । जिल्लाबाट सिफारिस भएका यी नामहरू अब अन्तिम निर्णयका लागि पार्टीको केन्द्रीय कार्यालयमा पठाइनेछ





