विगतका कमजोरी सच्याउँदै नेकपालाई देशकै ‘एक नम्बर’ शक्ति बनाउने प्रचण्डको उद्घोष

वीरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका गल्ती तथा कमजोरीहरूबाट शिक्षा लिँदै एकीकृत र सुदृढ पार्टी निर्माणको दिशामा अघि बढेको बताएका छन् । वीरेन्द्रनगरमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागिताले आफूहरूलाई देशको पहिलो शक्ति बन्ने ऊर्जा मिलेको उल्लेख गरे ।

संयोजक दाहालले १४ भन्दा बढी साना ठूला दलहरू एकताबद्ध भई विगतका कमी कमजोरी सच्याउँदै अघि बढ्ने संकल्प लिएको स्पष्ट पारे । देशका विभिन्न स्थानमा सम्पन्न एकता सभाहरूमा देखिएको जनलहरले यो अभियानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

विसं २०४१/४२ सालदेखि नै आफू र नेता माधवकुमार नेपालबीच पार्टी एकताका विषयमा संवाद हुँदै आएको स्मरण गर्दै दाहालले सशस्त्र द्वन्द्वको जटिल परिस्थितिमा पनि देशको निकासका लागि निरन्तर छलफल भएको बताए । ‘हामी सुरुदेखि नै एकताको पक्षमा थियौं । सशस्त्र युद्ध सुरु भएको दुई वर्षदेखि नै देशको विकास र नेपाललाई कसरी उचाइमा पुर्‍याउन सकिन्छ भनेर हामी छलफलमा थियौं,’ दाहालले भने, ‘एमाले र माओवादीबीचको सहमतिपछि मात्र देशमा १२ बुँदे सहमति सम्भव भएको थियो । यो ४० वर्षदेखिको एकता प्रयासको प्रतिफल हो ।’

कर्णाली प्रदेशलाई नेपाली सभ्यताको जननी तथा जडीबुटी र जलस्रोतको अपार भण्डारको रूपमा चित्रण गर्दै दाहालले यस क्षेत्रको विकासलाई पार्टीले उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । साथै, विदेशिएका युवा जनशक्तिलाई स्वदेश फर्काउने र मुलुकमै बस्ने वातावरण सिर्जना गर्न आफूहरू क्रियाशील रहेको उनको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले अलग अलग धारमा रहेका पार्टीहरूलाई एकै ठाउँमा ल्याउनु नेपाली राजनीतिमा ऐतिहासिक र महत्वपूर्ण काम भएको बताए । यस एकताले आम कार्यकर्ता र शुभेच्छुकमा नयाँ उत्साह थपेको उनको भनाइ थियो । नेकपालाई जनता र राष्ट्रको हितमा समर्पित पार्टीका रूपमा स्थापित गरिने उनले बताए ।

नेता नेपालले भने, ‘देशका हरेक महत्वपूर्ण र निर्णायक समयमा हामी सही ठाउँमा उभिँदै आएका छौँ । जनतालाई देशको वास्तविक मालिक बनाउनका लागि लोकतन्त्र र गणतन्त्र ल्याइएको हो । तसर्थ, देशको स्वतन्त्रता, स्वाधीनता र देशभक्त पार्टीको रुपमा नेकपालाई स्थापित गर्नेगरी हामी लागिरहेका छौं ।’ एकता सभामा देखिएको उल्लेख्य सहभागिताले कर्णाली प्रदेशमा वाम शक्तिप्रतिको भरोसा कायमै रहेको सन्देश दिएको नेताहरूको विश्लेषण छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ