एमाले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका १५ युवाको प्रतिनिधित्व सुनिश्चित, भूगोल र क्लस्टरमा यस्तो छ सिट बाँडफाँड

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाहरूको सहभागिताका लागि १५ सिट सुनिश्चित गरेको छ। पार्टीको विधान अनुरुप भूगोल र समावेशी क्लस्टरका आधारमा युवाहरूको प्रतिनिधित्वका लागि सिट सङ्ख्या निर्धारण गरिएको हो।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, केन्द्रीय कमिटीमा उपत्यका र सातवटै प्रदेशबाट ८/८ जना सदस्य चयन हुने व्यवस्था मिलाइएको छ। यसरी चयन हुने सदस्यहरूमध्ये हरेक भूगोल (प्रदेश र उपत्यका) बाट अनिवार्य रूपमा एक–एक जना युवाको प्रतिनिधित्व हुनेछ। जसअनुसार भूगोलबाट मात्रै ८ जना युवा केन्द्रीय सदस्य बन्नेछन्।

पार्टीका १९ जना पदाधिकारीहरू स्वतः केन्द्रीय कमिटी सदस्य रहने व्यवस्था छ। बाँकी सदस्यहरूमध्ये खुल्ला र समावेशी कोटामा युवाका लागि आरक्षणको व्यवस्था गरिएको छ। केन्द्रीय कमिटीको खुल्ला कोटातर्फ रहेका १२५ सिटमध्ये २ सिट युवाका लागि सुरक्षित गरिएको छ।

यसैगरी, समावेशी क्लस्टरतर्फ आदिवासी जनजाति समूहका लागि छुट्ट्याइएको २५ सिटमा २ जना र मधेसी समुदायका लागि निर्धारित २० सिटमा २ जना युवाको प्रतिनिधित्व अनिवार्य गरिएको छ। दलित समुदायतर्फको १२ सिटमा पनि १ जना युवाका लागि कोटा निर्धारण गरिएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो।

यद्यपि, पार्टीले प्रवास, अपाङ्गता, थारु, मुस्लिम र पिछडिएको क्षेत्रका लागि छुट्ट्याइएको क्लस्टरमा भने युवाका लागि छुट्टै आरक्षणको व्यवस्था गरेको छैन। पार्टी सङ्गठनमा युवा पुस्ताको सक्रिय सहभागिता गराउने उद्देश्यले यो मापदण्ड तयार पारिएको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ