काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मुलुक भित्रिने विप्रेषण (रेमिटेन्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ। साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भई कुल ६ खर्ब ८७ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ को यही अवधिमा ५ खर्ब २३ अर्ब रूपैयाँ मात्र रेमिटेन्स भित्रिएको थियो। समीक्षा अवधिमा आप्रवाह दरमा देखिएको यो उच्च वृद्धि अर्थतन्त्रको बाह्य क्षेत्रका लागि सुखद पक्ष मानिएको छ। पछिल्लो साढे दुई वर्षयता निरन्तर रूपमा मासिक १ खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको तथ्यांकले पुष्टि गरेको छ। दसैं-तिहार लगायतका ठूला चाडपर्व यही अवधिमा परेका कारण पनि विदेशमा रहेका नेपालीहरूले बढी रकम पठाएको विश्लेषण गरिएको छ।
रेमिटेन्स बढ्नुमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा आएको वृद्धि मुख्य कारण देखिएको छ। यो चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७३ हजार पुगेको छ। गत आर्थिक वर्षको यही अवधिमा यो संख्या २ लाख ४१ हजारमा सीमित थियो। यसले सुदूरपश्चिम प्रदेशलगायत देशभरबाट रोजगारीको खोजीमा युवा जनशक्ति पलायन हुने क्रम तीव्र रहेको देखाउँछ।
अर्कोतर्फ, नेपालबाट बाहिरिने रकम (आउटवार्ड रेमिटेन्स) मा पनि वृद्धि भएको छ। चार महिनाको अवधिमा ४ अर्ब ८६ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ, जुन गत वर्षको यही अवधिमा २ अर्ब ६२ करोड रूपैयाँ थियो। बढ्दो रेमिटेन्स आप्रवाहले मुलुकको विदेशी मुद्रा सञ्चिति बढाउन र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण टेवा पुर्याएको छ।





