काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको हो।
देशभरबाट काठमाडौं जम्मा भएका एमाले प्रतिनिधिहरूले रातभर लाइनमा बसेर मतदान गरेका थिए। नेतृत्व चयनका लागि कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिहरू मताधिकारका लागि योग्य रहेका थिए। यद्यपि, मतदानमा शतप्रतिशत सहभागिता भने रहन सकेन। एमाले नेता विशाल भट्टराईका अनुसार कुल प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित रहँदा २ हजार २ सय २७ मत मात्र खसेको छ।
मतदान प्रक्रियालाई छिटो र पारदर्शी बनाउन ८० वटा विद्युतीय मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग गरिएको थियो। एमालेको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्। संस्थापन र इतर पक्षबीचको प्यानलगत प्रतिस्पर्धासँगै दुवै प्यानलमा नअटेका नेताहरूले दिएको स्वतन्त्र उम्मेदवारीले निर्वाचनलाई थप चासोको विषय बनाएको छ।
विद्युतीय उपकरणको प्रयोग गरिएका कारण मतपरिणाम आजै सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ। आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गराउने विशेष कार्यक्रम तय गरिएको छ।





