बेलौरी, कञ्चनपुर
मीरा श्रेष्ठ
आज हुन गईरहेको राष्ट्रिय युवा सांसदको सभामुखको निर्वाचनमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला क्षेत्र नं १ बाट विष्णु दत्त अवस्थीले आफ्नो उम्मेदवारी दिनुभएको छ । यसअघि उहाँ राष्ट्रिय युवा सांसदको रुपमा सक्रिय रहदै आउनुभएको थियो ।

‟मेरो उम्मेदवारी दिनुको कारण भनेको सबैभन्दा पहिले त आफ्नो क्षमता विकास गर्नु नै हो, अर्को भनेको यो अलिक फरक प्ल्याटफर्म पनि हो, सिक्न र सिकेका कुरा कार्यान्वयन गर्न प्रभाव पार्न सकिने विशेष अवसर हो यो, र अर्को मुख्य कुरा भनेको सभामुख जस्तो नेतृत्वदायी पदमा हामी युवाहरु समेत आउन सक्छौँ, भन्ने सन्देश दिन पनि हो”, उहाँको भनाई थियो ।

साथै उहाँले राष्ट्रिय युवा सांसदमाथि बेलाबेलामा लगाईने आरोपहरु पूर्णत : अफवाह हुन् भन्ने सन्देश दिन पनि उम्मेदवारी दिएको बताउनुभयो ।

अवस्थी राष्ट्रिय युवा संसदका अतिरिक्त स्थानीय स्तरमा समेत सक्रिय युवाको रुपमा परिचित हुनुहुन्छ । सामाजिक कुरिती तथा अभ्यासको खर्रो खण्डन गर्ने देखि लिएर जेन जी आन्दोलनमा समेत पालिकामा भएगरेका अनियमितता तथा भ्रष्टाचारजन्य क्रियाकलापको विरुद्धमा उहाँले आवाज उठाउने र सुशासनको अभ्यासलाई प्रोत्साहन दिने र वकालत समेत गर्दै आउनुभएको छ ।

सभामुखको निर्वाचन आज बेलुकी ७ बजे देखि १० बजेसम्म हुने राष्ट्रिय युवा सांसदको आधिकारिक फेसबुक पेजमा जानकारी गराईएको छ । सुदूरपश्चिमबाट विष्णु दत्त अवस्थी, गण्डकी प्रदेशबाट मिलन पौडेल र दिपक पनेरुको उम्मेदवारी रहेको छ
भने लुम्बिनी प्रदेशबाट क्यामुद्दीन पठान, मधेश प्रदेशबाट मो. नइम राईन, कर्णाली प्रदेशबाट दिल बहादुर भण्डारी र बागमती प्रदेशबाट नवराज न्यौपानेको उम्मेदवारी रहेको छ ।

मतदानको लागि राष्ट्रिय युवा सांसदको वेबसाइट लिङ्क www.NationalYouthParliament.com मा गई मतदाताले आफ्नो अकाउन्ट खोल्नुपर्ने हुन्छ र आफूले रुचाएको उम्मेदवारलाई मत दिन सकिनेछ।





