कञ्चन आवाज संवाददाता, डडेल्धुरा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य मानसिंह मालको नाम प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेको छ। नेकपा डडेल्धुराको जिल्ला बैठकले मालसहित समावेशी र सन्तुलित उम्मेदवारहरूको सूची टुंगो लगाएको हो।
बैठकको निर्णयअनुसार प्रत्यक्षतर्फ खुल्ला विधामा नेता मानसिंह माल र अमर बोहरा (अनिल), महिलातर्फ निरा जैरु तथा ‘जेन्जी’ (युवा पुस्ता) तर्फबाट मुकुन्द भट्टको नाम सिफारिस गरिएको छ। त्यस्तै, समानुपातिकतर्फ अहिल्या कुँवर, सकुन्तला नगरकोटी, नरबहादुर विष्ट, नन्दा देवी भट्ट र धर्म विक लगायतको नाम सिफारिस गरिएको नेकपाका नेता उमेश भट्ट ‘विकास’ले जानकारी दिए। यद्यपि, जिल्लाको राजनीतिमा लामो संघर्ष र त्याग गरेका नेता मानसिंह मालको सिफारिसले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ।
सुदूरपश्चिमको वामपन्थी राजनीतिमा ‘जुझारु र निडर’ नेताको छवि बनाएका ४६ वर्षीय मानसिंह माल डडेल्धुराको परशुराम नगरपालिका ४, कटालका स्थायी बासिन्दा हुन्। वि.सं. २०३५ साल पुस ५ गते जन्मिएका मालको राजनीतिक यात्रा संघर्ष र बलिदानले भरिएको छ। वि.सं. २०५८ वैशाखदेखि भूमिगत राजनीति सुरु गरेका उनले १० वर्षे जनयुद्धमा जनमुक्ति सेनाको कमान्डरको रूपमा अग्रमोर्चामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
विद्यार्थी आन्दोलनको अगुवाइ गर्दै मूलधारको राजनीतिमा स्थापित भएका माल साविकको माओवादी केन्द्रको सुदूरपश्चिम उपाध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक सम्हालिसकेका छन्। हाल नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य रहेका उनी वैचारिक रूपमा स्पष्ट र प्रखर वक्ताका रूपमा चिनिन्छन्। डडेल्धुराको माटो र जनताको भावना बुझेका मालमा विकास निर्माण र जनसेवाका लागि ‘केही राम्रो काम गर्ने’ हुटहुटी रहेको स्थानीय बताउँछन्।
पार्टीले समावेशी प्रतिनिधित्व, आन्दोलनको मर्म र निर्वाचनमा प्रभावकारी प्रतिस्पर्धालाई ध्यानमा राख्दै माललाई अघि सारेको देखिन्छ। उनको निडर स्वभाव र जनयुद्धदेखि हालसम्मको अविचलित सक्रियताले उनलाई जिल्लाको बलियो र ओजिलो उम्मेदवारका रूपमा स्थापित गरेको छ। जिल्ला कमिटीबाट सिफारिस गरिएका नामहरू केन्द्रमा पठाइने र अन्तिम निर्णय पार्टीको केन्द्रीय तहबाट हुने नेकपा डडेल्धुराले जनाएको छ।





