बेलौरी, कञ्चनपुर । गृह मन्त्रालयले शुक्रबार गरेको प्रशासनिक हेरफेर अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लक्ष्मण ढकालको इलाम सरुवा भएको छ । मन्त्रालयले ढकालको स्थानमा मदन कोइरालालाई कञ्चनपुरको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकेको हो ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कञ्चनपुरसहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको जानकारी दिएको छ । यस निर्णयसँगै विगत केही महिनादेखि कञ्चनपुरको प्रशासनिक नेतृत्व सम्हालिरहेका ढकाल अब इलामको कमाण्ड सम्हाल्न जानेछन् ।
मन्त्रालयको सरुवा सूचीअनुसार अन्य जिल्लाहरूमा पनि हेरफेर भएको छ । हाल जिल्ला प्रशासन कार्यालय भोजपुरमा रहेका शिवलाल तिवारीलाई तनहुँ पठाइएको छ भने भोजपुरमा सहसचिव राजन पौडेललाई खटाइएको छ । यस्तै, नवलपरासी पश्चिममा दीपकराज नेपाल र सल्यानमा महेन्द्रकुमार सापकोटाले जिम्मेवारी पाएका छन् ।
पहाडी जिल्लातर्फ पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना, दोलखामा हरिप्रसाद घिमिरे र सिन्धुपाल्चोकमा रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । कारागार व्यवस्थापन विभागको महानिर्देशकमा भने शशीधर घिमिरेलाई नियुक्त गरिएको छ ।
गृह मन्त्रालयले सरुवा भएका सम्पूर्ण अधिकारीहरूलाई तोकिएको समयमै रमाना लिई आआफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन दिएको छ ।






