काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच एक महत्वपूर्ण राजनीतिक सहमति भएको छ। शनिबार साँझदेखि चलेको लामो र गहन छलफलपछि आइतबार बिहान ४ बजे दुई पक्षबीच ऐतिहासिक सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
सहमतिअनुसार आगामी प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ। वैकल्पिक राजनीतिका दुई प्रमुख खम्बाहरू एक ठाउँमा आउने यो निर्णयले राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। यद्यपि, पार्टीको नाम, चुनाव चिह्न र झण्डा भने राष्ट्रिय स्वतन्त्र पार्टीकै कायम रहनेछ। साथै, पार्टीको मूल नेतृत्व अर्थात् सभापतिको जिम्मेवारी रवि लामिछानेमै निहित रहने कुरा पनि सहमतिमा प्रष्ट पारिएको छ।
हस्ताक्षरित सहमतिपत्रमा केन्द्रीय समितिको संरचनाबारे विस्तृत विवरण उल्लेख नभए पनि व्यावहारिक पक्षमा दुवै पक्षबीच समझदारी जुटेको छ। बालेन शाहका तर्फबाट निश्चित संख्यामा केन्द्रीय सदस्यहरू थप गरी निर्वाचन आयोगमा दलको विवरण अद्यावधिक गर्ने भित्री समझदारी बनेको स्रोतले जनाएको छ।
बृहत एकतापश्चात पार्टीको संगठनात्मक संरचनालाई फराकिलो बनाउने र त्यसमा युवा अभियान्ता एवं विभिन्न क्षेत्रका अनुभवी विज्ञहरूलाई समायोजन गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। पार्टी भित्र जिम्मेवारी तोक्दा परम्परागत भागबण्डाभन्दा माथि उठेर योग्यता, समावेशिता र व्यक्तिको सार्वजनिक छविलाई मुख्य आधार मानिने जनाइएको छ।
यो सहमतिसँगै नेपालको वैकल्पिक राजनीतिले नयाँ मोड लिएको विश्लेषण गर्न थालिएको छ। देशका दुई लोकप्रिय युवा नेताहरू एउटै मञ्चमा उभिँदा पुराना राजनीतिक दलहरूमाथि सुशासन र डेलिभरीका लागि थप दबाब सिर्जना हुने देखिन्छ।





