कांग्रेसको निर्णय : अनुशासनको कारबाही फुकुवा, विद्रोहीलाई ‘घर फर्कन’ आह्वान

काठमाडौ। नेपाली कांग्रेसले पार्टी संगठनलाई सुदृढ बनाउने र आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्ने उद्देश्यसहित ६ महिनाअघि आफ्ना नेता तथा कार्यकर्तामाथि गरिएको अनुशासनको कारबाही फुकुवा गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले २०७९ को निर्वाचनमा बागी उम्मेदवारी दिएका, प्रस्तावक र समर्थक बसेकाहरूलाई आममाफी दिने निर्णय गरेको हो।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको दीगो विकास र संविधान रक्षाको राष्ट्रिय दायित्वलाई हृदयङ्गम गर्दै पार्टीभित्र ‘बृहत एकता’ कायम गर्न यो निर्णय लिइएको हो। शनिबारको बैठकले गरेको यो निर्णयसँगै निष्कासन, निलम्बन र पार्टी विधान अनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि मिनाहा भएको छ। अब उनीहरूको क्रियाशील सदस्यता निरन्तरता पाउने गरी नवीकरण गरिने भएको छ, जसले सुदूरपश्चिम लगायत देशभरका असन्तुष्ट कार्यकर्तालाई मूल धारमा फर्काउने अपेक्षा गरिएको छ।

गत असारमा आनन्दप्रसाद ढुंगाना नेतृत्वको अनुशासन समितिले गरेको कारबाहीलाई लिएर पार्टीभित्रको संस्थापनइतर समूहले लामो समयदेखि असन्तुष्टि जनाउँदै आएको थियो। २०७९ को चुनावमा अनुशासन उल्लंघनका २१ सय हाराहारी उजुरी परेकोमा ‘सेलेक्टिभ’ ढंगले करिब डेढ दर्जन नेता कार्यकर्तामाथि मात्र कारबाही गरिएको गुनासो पार्टीभित्र व्याप्त थियो। आसन्न प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनको पूर्वसन्ध्यामा गरिएको यो निर्णयले पार्टीभित्रको गुटगत तिक्तता मेट्न सघाउ पुग्ने विश्लेषण गरिएको छ।

बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दलमा गएर उम्मेदवार तथा प्रचारक बनेकाहरूलाई पनि ‘घर फर्कन’ हार्दिक आह्वान गरेको छ। त्यसरी फर्कनेहरूलाई आवश्यक जिम्मेवारी प्रदान गरिने कांग्रेसले जनाएको छ। साथै, लोकतान्त्रिक विचार राख्ने विभिन्न पेसा र व्यवसायका व्यक्तिहरूलाई पनि पार्टीमा सक्रिय भूमिकाका लागि अपिल गरिएको छ। यद्यपि, कांग्रेसले आगामी दिनमा पार्टी हित विपरीत हुने गरी अनुशासन उल्लंघन नगर्न/नगराउन सबै तहका कार्यकर्तालाई सचेत गराएको छ।

शनिबारको बैठकले कारबाही फुकुवाको निर्णयसँगै आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरी प्रक्रिया समेत प्रारम्भ गरेको छ। थप छलफलका लागि कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पुनः बोलाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ