नेपाली कम्युनिष्ट पार्टी कञ्चनपुरद्वारा प्रतिनिधिसभा उम्मेदवार सिफारिस, वीना मगरदेखि लालबहादुर खड्कासम्मको नाम सूचीमा

बेलौरी, कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी कञ्चनपुरले प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट आकाङ्क्षी उम्मेदवारहरूको नाम छनोट गरी पार्टीले माथिल्लो कमिटीमा पठाएको हो ।

निर्वाचनको मिति तय भएसँगै जिल्लामा राजनीतिक गतिविधि बढेको छ । यसै क्रममा कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट पार्टीले प्रभावशाली नेत्री वीना मगरसहित आठ जनाको नाम सिफारिस गरेको छ । उक्त क्षेत्रबाट मगरका अलावा लोकेन्द्र प्रसाद लम्साल, भक्त बहादुर अधिकारी, कृष्ण राज गिरि, जीवनराज थापा, तिलक भट्ट, दीपक वि.सी. र मदनसेन बडायकको नाम सिफारिस सूचीमा समेटिएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट लाल बहादुर खड्‌का, जयराज पाण्डेय, हरिष ठकुल्ला (कमल क्षेत्री), माधव प्रसाद पन्त, महेश दत्त जोशी, दुर्गा जोशी भट्ट र तोयराज जोशी गरी सात जनाको नाम अगाडि सारिएको छ । पार्टीले भूगोल र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवारहरूको नाम सिफारिस गरेको देखिन्छ ।

सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्र समेटिएको निर्वाचन क्षेत्र नम्बर ३ बाट भने पाँच जना नेताहरूको नाम सिफारिस भएको छ । यस क्षेत्रबाट मान बहादुर सुनार, हरक सिंह धामी, दिपक सिंह साउँद, खेम बहादुर भण्डारी र राजिव दमाईको नाम सिफारिस गरिएको छ ।

उम्मेदवार सिफारिस सम्बन्धी यो जानकारी नेपाली कम्युनिष्ट पार्टीका नेता सहबिर सुनारले दिनुभएको हो । सुनार साविक माओवादी केन्द्रको जिल्ला सचिवको जिम्मेवारीमा रहनुभएको थियो । जिल्ला तहबाट सिफारिस भएका यी नामहरूमध्येबाट पार्टीको केन्द्रीय तहले अन्तिम उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ