दलित सशक्तिकरण ऐन संशोधन विधेयकमाथि सांसद विकको असन्तुष्टि, ‘अधिकार सम्पन्न’ समितिको मागसहित संशोधन प्रस्ताव दर्ता

धनगढी। सुदूरपश्चिम प्रदेश सभामा टेबुल भएको ‘दलित सशक्तिकरण ऐन २०७८’ लाई संशोधन गर्न बनेको विधेयकमाथि पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य लक्ष्मी विकले कडा असन्तुष्टि जनाउँदै संशोधन प्रस्ताव दर्ता गराउनुभएको छ । प्रदेश सरकारले ल्याएको संशोधन विधेयकले दलित समुदायको अधिकार कुण्ठित गर्ने र संरचनालाई कमजोर बनाउने नियत राखेको भन्दै उहाँले पुस १८ गते प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको हो ।

पुस १७ गते प्रदेश सभामा छलफलका लागि पेश भएको उक्त विधेयकको सैद्धान्तिक छलफलमा आफ्ना धारणा राख्दै सांसद विकले सरकारले ल्याएको प्रस्ताव ‘कानुनी जालझेल र षड्यन्त्रको सिद्धान्त’ बाट प्रेरित रहेको गम्भीर आरोप लगाउनुभयो । उहाँले मूलतः विधेयकका दफा ३, ५ र ९ मा रहेका प्रावधानहरूले दलित विकास समितिलाई पंगु बनाउन खोजेको भन्दै ती दफाहरूमा व्यापक हेरफेरको माग गर्नुभएको छ । विशेषगरी ऐनको दफा ३ मा प्रस्ताव गरिएको ‘प्रादेशिक निर्देशन समिति’ को व्यवस्थाप्रति उहाँको मुख्य आपत्ति रहेको छ । विगतमा रहेको प्रदेश स्तरीय अनुगमन समितिलाई हटाएर निर्देशन समिति बनाउनुको सट्टा ‘अधिकार सम्पन्न प्रादेशिक दलित विकास समिति’ गठन गरिनुपर्ने उहाँको जिकिर छ ।

सांसद विकले संविधानको धारा २४ र ४० ले प्रत्याभूत गरेको मौलिक हक कार्यान्वयनका लागि अधिकार सम्पन्न कार्यकारी निकाय आवश्यक पर्नेमा जोड दिनुभयो । सरकारले प्रस्ताव गरेको ‘निर्देशन समिति’ ले दलित समुदायको विकास र सशक्तिकरण गर्नुको साटो उल्टै समुदायलाई नियन्त्रण र निर्देशन गर्ने मनसाय राखेको उहाँको तर्क छ । यस्तो व्यवस्थाले संवैधानिक मर्ममाथि प्रहार गरेको भन्दै उहाँले अधिकार सम्पन्न संरचनाका लागि दफा ३ पूर्ण रूपमा संशोधन हुनुपर्ने अडान लिनुभएको छ ।

यस्तै, विधेयकको दफा ९ मा समितिको उपाध्यक्षको मर्यादाक्रम र योग्यताका विषयमा पनि सांसद विकले संशोधन हाल्नुभएको छ । प्रस्तावित विधेयकमा उपाध्यक्षको हैसियत दशौँ तहको कर्मचारी सरह र मन्त्रालयका उपसचिव सदस्य रहने व्यवस्था छ, जसले गर्दा समिति कर्मचारीतन्त्रको छायाँमा पर्ने र काम गर्न नसक्ने उहाँको बुझाइ छ । यसलाई सच्याउँदै सामाजिक विकास मन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा, राज्यमन्त्री वा सहायक मन्त्री सरहको कार्यकारी अधिकार सहितको उपाध्यक्ष र प्रदेशका सबै मन्त्रालयका सचिवहरू पदेन सदस्य रहने व्यवस्था गरिनुपर्ने उहाँको प्रस्ताव छ । यस्तो उच्चस्तरीय संरचनाले मात्र नीति निर्माण र कार्यान्वयनमा प्रभावकारिता ल्याउन सक्ने उहाँले बताउनुभयो ।

साथै, उपाध्यक्षको शैक्षिक योग्यता १२ कक्षा वा सो सरह प्रस्ताव गरिएकोमा त्यसलाई सच्याएर स्नातक वा स्नातकोत्तर हुनुपर्ने माग संशोधन प्रस्तावमा गरिएको छ । समितिका अन्य सदस्यहरू (सचिवहरू) उच्च शैक्षिक योग्यताका हुने भएकाले उपाध्यक्षको योग्यता पनि सोही अनुसार हुनुपर्ने उहाँको तर्क छ । यसका अलावा, ऐनको दफा ५ बमोजिम प्रदेशका ८८ वटै स्थानीय तहमा ‘अनुगमन समिति’ को साटो ‘सामाजिक विकास तथा विभेद उन्मुलन समिति’ गठन गरी कानुनी हैसियत प्रदान गर्नुपर्ने विषयलाई पनि संशोधनमा समेटिएको छ ।

चार हजार वर्षदेखि उत्पीडनमा परेको दलित समुदायको सामाजिक न्याय र समानताका लागि यो संशोधन अपरिहार्य रहेको सांसद विकले बताउनुभयो । उहाँले कमजोर र अधिकारविहीन संरचना स्वीकार्य नहुने भन्दै यो कानुनी लडाइँमा साथ दिन आम समुदायलाई अपिल समेत गर्नुभएको छ । यो संशोधन प्रस्तावले प्रदेश सभामा सत्ता पक्ष र प्रतिपक्षबीचको बहसमा नयाँ तरंग ल्याउने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ