मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
‘आदिवासी जनजातिको हक अधिकार विषयक प्रशिक्षण कार्यक्रम’ हिजो अर्थात् पौष २० गते सम्पन्न भएको छ। पौष १९ गते र २० गते दुई दिन आयोजना गरिएको सो कार्यक्रम सफल रुपमा सम्पन्न भएको आयोजकको दाबी छ।

कुल ३७ जना सहभागी रहेको सो प्रशिक्षण कार्यक्रम निकै आवश्यक र प्रभावकारी रहेको प्रशिक्षार्थीहरूको भनाई थियो।

अधिवक्ता कौशिला योगी रहेको सो प्रशिक्षण कार्यक्रमबाट आफूले आदिवासी जनजातिको हक अधिकारको बारेमा राम्ररी बुझ्ने मौका पाएको बताउनुभयो।

“म आफै पनि जातीय समुदायमा तीन वर्ष बसें। तर मलाई अहिलेसम्म आदिवासी जनजाति वास्तवमा के हो?, को हो? हाम्रो हक, अधिकार के हो? भन्ने कुरा थाहा थिएन। तर आज थाहा भयो, त्यसका लागि आयोजक टिमलाई धेरै धेरै धन्यवाद र प्रशिक्षक म्यामलाई पनि।”

त्यस्तै अर्का सहभागी सरस्वती श्रेष्ठले ऐन कानुन जस्ता अप्ठ्यारो लाग्ने विषय सजिलोसँग बुझाएकोमा आभार रहेको बताउनुभयो। उहाँले थप भन्नुभयो,

“म आफैलाई पनि गाह्रो लाग्ने विषय हो यो, तर म्यामले कति सजिलोसँग बुझाउनुभयो। अब मलाई चिन्ता र चासो लागेको विषय भनेको भिडियो सिकेको कुरालाई कसरी कार्यान्वयन गर्छौं भन्ने हो।”

प्रशिक्षणको अन्तिम दिन आदिवासी जनजाति महासङ्घ बेलौरी नगर समन्वय परिषद्को सल्लाहकार रहनुभएका पुनम श्रेष्ठले बेलौरीमा सूचीकृत भएका जनजाति पाँच समुदायका रहेपनि वास्तवमा ६ ओटा जातीय समुदाय रहेको र कञ्चनपुर जिल्लामा सूचीकृत कुल जनजाति ११ समुदाय रहेको बताउनुभयो।

“हामी अल्पसंख्यक जनजाति छौँ, त्यसमा पनि हामी तुलनात्मक रुपमा पछाडि परेका छौं। त्यसैले अब हामीले चेतनाको स्तर बढाएर सबै क्षेत्रमा हामीले क्रान्ति गर्नुपर्छ।”

साथै, सहभागी सम्पूर्ण प्रशिक्षार्थीले आफ्नो जातीय समुदायको उत्थानको लागि आवाज उठाउने र आवश्यक सबै काम क्रियाकलाप गर्ने अपेक्षा लिएको समेत बताउनुभयो।





