कञ्चनपुरमा लागुऔषधसहित तीन युवा पक्राउ, दुई छुट्टाछुट्टै स्थानबाट ९ ग्रामभन्दा बढी ‘खैरो हेरोइन’ बरामद

कञ्चनपुर । लागुऔषध दुर्व्यसन र ओसारपसार नियन्त्रणमा सक्रियता बढाएको कञ्चनपुर प्रहरीले बुधबार साँझ र राति गरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध (खैरो हेरोइन) सहित तीन जना युवालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बेलडाँडी र पुनर्वास क्षेत्रबाट विशेष सूचना र चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

बिहीबार साँझ करिब साढे ७ बजे बेलडाँडी गाउँपालिका–१ रतनपुरमा लागुऔषधको कारोबार तथा सेवन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलडाँडीबाट प्रहरी टोली खटिएको थियो। सो क्रममा स्थानीय २२ वर्षीय गोविन्द जोशीलाई आफ्नै घर नजिकै रहेको शौचालय पछाडि शंकास्पद अवस्थामा फेला पारिएको थियो। निजले लागुऔषध सेवन गरिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८९० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन राति साढे ९ बजे पुनर्वास नगरपालिका–१० दोदास्थित सडक खण्डमा बेलौरीबाट धनगढीतर्फ जाँदै गरेको म १ प २७५१ नम्बरको मोटरसाइकललाई प्रहरीले रोकेर चेकजाँच गरेको थियो। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडी बस्ने २१ वर्षीय विकास नेपालीको ज्याकेटको खल्तीमा लुकाइराखेको अवस्थामा ७ ग्राम ९२० मिलिग्राम लागुऔषध फेला परेको हो। उक्त पदार्थ फेला परेलगत्तै प्रहरीले चालक नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय रबिन शर्मालाई समेत नियन्त्रणमा लिएको छ।

बरामद गरिएको लागुऔषध जस्तो देखिने पदार्थ, प्रयोग भएको मोटरसाइकल र पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान अगाडि बढाएको छ। खुला सीमानाका कारण कञ्चनपुरका दक्षिणी भेगमा लागुऔषधको ओसारपसार बढ्दै गएको जनगुनासो आइरहँदा प्रहरीले चेकजाँचमा कडाइ गरेको देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ