कञ्चन आवाज संवाददाता,धनगढी ।समाचार संकलनको क्रममा सार्वजनिक स्थलमा भिडियो खिचिरहेका पत्रकारमाथि ट्राफिक प्रहरीले दुर्व्यवहार गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धनगढीबाट प्रसारित एसटीएस टेलिभिजनका संवाददाताहरू उषाकिरण ज्योति र लक्ष्मण ढुङ्गानामाथि भएको उक्त दुर्व्यवहारको महासंघले कडा शब्दमा निन्दा गरेको हो ।
घटना विवरण अनुसार बुधबार अपराह्न धनगढीको सहिद गेटस्थित ६ लेन सडकमा ट्राफिक नियम उल्लंघन गरी एउटै मोटरसाइकलमा तीन जना सवार भई यात्रा गरिरहेको दृश्य पत्रकारद्वयले कैद गरिरहेका थिए । सोही क्रममा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको भिडियो खिचेको विषयलाई लिएर त्यहाँ खटिएका ट्राफिक प्रहरी हवल्दार डेविड श्रेष्ठले पत्रकार लक्ष्मण ढुङ्गानाको मोबाइल नियन्त्रणमा लिई भिडियो डिलिट गर्न खोजेको र दुर्व्यवहार गरेको बताइएको छ ।
नेपाल पत्रकार महासंघ कैलालीका सचिव तेजराज भट्टद्वारा जारी विज्ञप्तिमा पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने संवैधानिक हकविपरीत सुरक्षा अधिकारीबाटै यस्तो कार्य हुनु निन्दनीय भएको उल्लेख गरिएको छ । महासंघले पत्रकारमाथि भएको दुर्व्यवहारमा संलग्न ट्राफिक प्रहरी अधिकारीलाई आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग समेत गरेको छ ।





