काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको आग्रहलाई अस्वीकार गरेका छन् । बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकमा महामन्त्री थापाले आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन अपरिहार्य रहेको भन्दै आफ्नो अडान कायमै राखेका हुन् ।
बैठकमा कार्यवाहक सभापति खड्काले पार्टीको नियमित महाधिवेशनको कार्यसूची र कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको भन्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए । तर, खड्काको उक्त प्रस्तावको प्रतिवाद गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनको घोषणाले मात्र विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्न नसक्ने जिकिर गरे ।
महामन्त्री थापाले बैठकमा आफ्नो धारणा राख्दै भने, ‘नियमित महाधिवेशनको क्यालेन्डर घोषणा भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्नु मागको आधारभूत कुरालाई नै बिर्सिनु हो । चुनावभन्दा पहिले नै नेतृत्व फेर्ने मागलाई नियमित अधिवेशनको अल्झो हालेर पन्छाउन मिल्दैन ।’ उनले विशेष महाधिवेशनको माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको वैधानिक र विशिष्ट अधिकार भएको कुरालाई नेतृत्वले नजरअन्दाज गर्न नहुने समेत बताए । प्रक्रियामा प्रवेश गर्न नचाहनु र विधानको व्यवस्थालाई लत्याउन खोज्नु पार्टीका लागि घातक सिद्ध हुन सक्ने थापाको तर्क थियो ।
विशेष महाधिवेशनको मुख्य उद्देश्य आसन्न आम निर्वाचनअघि नै पार्टीमा नयाँ नेतृत्व स्थापित गर्नु रहेको थापाले स्पष्ट पारेका छन् । पार्टीको वर्तमान असाधारण अवस्थालाई मध्यनजर गर्दै नियमित अधिवेशनले नेतृत्व परिवर्तनको तत्कालको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने हुँदा विशेष महाधिवेशन नै एक मात्र विकल्प भएको निष्कर्ष उनले बैठकमा सुनाएका थिए ।





