काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्वबाट विश्राम लिन र नयाँ पुस्ताका लागि मार्गप्रशस्त गर्न सार्वजनिक अपिल गरेका छन्। आइतबार राति सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब पार्टी परम्परागत शैलीमा चल्न नसक्ने र नेतृत्व हस्तान्तरण अपरिहार्य रहेको औंल्याएका हुन्।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवाको प्रजातान्त्रिक आन्दोलनमा रहेको योगदानको उच्च सम्मान गर्दै अब नेतृत्व छाड्ने समय आएको बताए। उनले भने, “शेरबहादुर दाइ, प्रजातन्त्रका लागि तपाईंको योगदान ठूलो छ। तर समय आएको छ, अब तपाईंले आराम गर्नुपर्छ, छाड्नुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ।”
सभापति देउवाले यसअघि नै मंसिरभित्र महाधिवेशन गरेर कार्यवाहक सुम्पिने र नेतृत्व छाड्ने प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउँदै थापाले सोही वचन पूरा गर्न आग्रह गरे। उनले नेतृत्वलाई प्रश्न गर्दै भने, “तपाईंले नेतृत्व छाड्छु भन्दा कांग्रेसका मात्र होइन, कांग्रेस बाहिरका मान्छेले पनि ‘नेता हुनु त शेरबहादुर देउवाजस्तो’ भनेका थिएनन् र?”
सम्बोधनका क्रममा थापाले भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको प्रसंग कोट्याउँदै सडकमा पोखिएको आक्रोश कुनै व्यक्तिविरुद्ध नभई कुशासन र ‘नेपो–बेबी’ (नातावाद) प्रवृत्तिका विरुद्ध भएको स्पष्ट पारे। “राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा फेरि नेपो–बेबीहरूको राज देखेर देशभरका लाखौं लाख मानिस रिसाएका हुन्,” थापाले भने, “त्यो आक्रोश हामी सरकारमा र संसदमा बस्नेहरूकै विरुद्ध थियो, यहाँको भ्रष्टाचार र कुशासन देखेर थियो।”
महामन्त्री थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध सभापतिलाई भ्रमित पारिएको संकेत गर्दै संकटको बेला साथ दिने आफूहरू नै भएको जिकिर गरे। उनले भदौ १८ देखि २५ गतेसम्मको घटनाक्रम स्मरण गराउँदै भने, “नेताहरूले हामी दुई जना महामन्त्रीले तपाईंलाई दुःख दिइरहेका छन् भनेर कुरा लगाएको हुनसक्छ। तर सम्झनुस्, भदौ २५ गते घटना भइसकेपछि सबभन्दा पहिले वक्तव्य निकाल्न आँट गर्ने र तपाईंलाई साथ दिने यिनै दुई महामन्त्री थिए।”
कांग्रेसलाई ‘दास र लासहरू’को पार्टी नभई ज्युँदा मानिसहरूको पार्टीको रूपमा चित्रित गर्दै थापाले पार्टीभित्र ‘बा’ प्रवृत्तिको अन्त्य भएको घोषणा गरे। उनले भने, “यहाँ कुनै ‘बा’ छैन, जसले नबोल भन्दा बोल्न छाड्ने कोही पनि छैन। हामी सबै बराबर छौं। जुन पार्टीभित्र प्रश्न मर्छ, त्यसले समाजमा समाधान दिन सक्दैन।” उनले चुनाव एउटासँग मिलेर लड्ने तर सरकार अर्कोसँग बनाउने अवसरवादी चरित्रले नै पार्टीमा वितृष्णा जगाएको र कार्यकर्ताले ‘तिमीहरूको चालढाल ठिक छैन’ भनेर खबरदारी गरेको उल्लेख गरे।
आफू बिपी कोइराला वा गणेशमान सिंहको वंशज नभए पनि उनीहरूको विचार र साहसको उत्तराधिकारी रहेको थापाले दाबी गरे। “मेरो शरीरमा बिपी र गणेशमानको रगत बगेको छैन, तर मसँग बिपीको विचार र गणेशमानको साहस छ,” उनले भावुक हुँदै भने।
कांग्रेस चुनाव जित्नका लागि मात्र बनेको दल नभई देशलाई संकटबाट पार लगाउने राष्ट्रिय शक्ति भएको बताउँदै उनले विशेष महाधिवेशनले लिने निर्णय सबैका लागि सर्वमान्य हुने र पार्टी सञ्चालनको पुरानो विधि अब सधैंका लागि भत्किएको उद्घोष गरे।





