बेलौरीमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाईयो

मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर

बेलौरीमा आज ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताको साथ सम्पन्न भएको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता समिति, बेलौरीले आयोजना गरेको सो कार्यक्रमा बेलौरी नगरपालिकाका उप–प्रमुख जोगराम चौधरी प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा ज्ञान साधना बोर्डिङ्ग स्कुलका शिक्षक दीपेन्द्र उपाध्यायले पृथ्वी नारायण शाहको दीव्योपदेश लगायत नेपाल एकीकरणको महत्वलाई चर्चा गर्दै राष्ट्र्निर्माणमा उहाँको ठुलो देन रहेको कुरा औल्याउनुभयो । ‟पृथ्वी नारायण शाह जस्तो अर्को राजाको जन्मन सक्दैन तर उनको जस्तो सिपाही अरु जन्मन सक्छन् । यति भन्दा जनतको बलिदानलाई गौर गर्न मिल्दैन तर उहाँको देन अतुलनीय छ”, उहाँले बताउनुभयो ।

त्यस्तै वात्सल्य विद्या निकेतनका प्रधानाध्यापक लक्ष्मण सिंह दियालले राष्ट्र्पिता पृथ्वी नारायण शाहको राष्ट्रिय एकीकरणको वास्तविक उद्धेश्य देशलाई जातीय, वर्गीय, धार्मिक, साँस्कृतिक, भाषा लगायत दृष्टिकोणबाट एकसुत्रमा बाध्ने रहेको भन्दै उपस्थित जनप्रतिनिधि र समग्र जनतालाई एकीकरणको सुत्रमा बाध्ने र बाधिने काम के–कति गरेको छ, स्व–मुल्याङ्कन गर्न अनुरोध गर्नुभयो ।

‟आजको कार्यक्रम नितान्त नगरपालिकाले महत्व दिएर गर्नुपर्ने कार्यक्रम हो । २०–२२ वर्ष अघि राजाले बुझेको राष्ट्रिय गरिमा, एकता कति जनप्रतिनिधिले अहिले बुझ्नुभएको छ ? हामी जनता स्वयम्ले पनि बुझेका छौँ या छैनौँ ? कर्म र धर्ममा दीव्योपदेशको ज्ञान झल्काऔँ”, उहाँले उपस्थित सबैमा अनुरोध गर्नुभयो ।

त्यसैगरि समग्र महिलाहरुको प्रतिनिधित्व गर्दै विजया लक्ष्मी श्रेष्ठले पृथ्वी नारायण शाहको राष्ट्र एकीकरणमा देन भएकै कारण आज सबैले आफुलाई नेपाल देशको नेपाली भनि चिनाउने पहिचान पाएको कुरा उल्लेख गर्नुभयो ।

यद्यपि अहिले आएर राष्ट्र्निर्माताको राष्ट्रीय एकताको महत्वलाई नबुझेर नेपालीहरु एकआपसमा लड्ने कामले देश रोएको संकेत गर्दै उहाँले भन्नुभयो, ‟आज जनतालाई जाती, पार्टी र धर्मको नाममा टुक्रा पार्ने काम भईरहेको छ, यस्तोमा कहिलेसम्म नेपाल आमाले रुनपर्ने हो ? कहिलेसम्म हामी आमाहरुले सन्तान गुमाउनपर्ने हो ?”

ज्ञान साधना बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक तेज बहादुर चन्दले बेलौरीमा राष्ट्र्निर्माता पृथ्वी नारायण शाहको शालीक रहनपर्ने भन्दै संवैधानिक राजतन्त्रात्मक व्यवस्था देशमा रहनपर्ने कुरामा जोड दिनुभयो ।

 

त्यस्तै विद्यार्थी अनुप अवस्थीले बेलौरी नगरपालिकामा हाल अभिभाकत्वको भुमिका निभाईरहनुभएका नगरप्रमुख तथा उप–प्रमुख लाई बेलौरीको अवस्था नियाल्न र आत्ममुल्याँकन गर्न दबाब महशुश गर्न अनुरोध गर्नुभयो ।

बेलौरी नगर युवा सञ्जालका अध्यक्ष विष्णु अवस्थीले राष्ट्र्यि गौरवको विषय रहेको कार्यक्रम नगरपालिकाको पहलमा आयोजना गरिनुपर्ने तर बेलौरी बासीले व्यक्तिगत पहलमा कार्यक्रम गरिरहनुपरेको बिडम्बना छ भन्दै नगरपालिकाप्रति कटाक्ष व्यक्त गर्नुभयो ।

यसरी सरोकारवालाहरुबाट राष्ट्र्को गरिमा बोकेको कार्यक्रमका लागि नगरपालिकाले अपनत्व लिनपर्ने चौतर्फी दबाबमुलक आवाज राखेपछि कार्यक्रममा प्रमुख अतिथि बेलौरी नगरपालिकाका उप–प्रमुख जोगराम चौधरीले नगरपालिकाले दिवसहरुका लागि पालिकाले बजेट छुट्याउने अभ्यास नरहेको तर जनताको सल्लाह सुझाव बमोजिम आजको कार्यक्रमको खर्च पेश गरे आवश्यक छलफलबाट पालिकाले व्यहोर्ने कुरा व्यक्त गर्नुभयो ।

‟हामीमा विविधता भएपनि एकता हुनैपर्छ र पृथ्वी नारायण शाहले दिनुभएको अर्ती उपदेश मान्नुपर्छ । हामी स्थानीय सरकार पनि जनता हौँ, स्थानीय सरकारसँग पनि समन्वय गर्नुस्, आगामी दिनमा के–कसरी अगाडि जाने सल्लाह गर्न सक्छौँ”, उहाँको भनाई थियो ।

कार्यक्रमको समापनपछि राष्ट्र्निर्माता पृथ्वी नारायण शाहको शालीक निर्माण र शालीक स्थापनाको लागि आवश्यक रहने उपयुक्त स्थान छनौट लगायत विषयमा नगरपालिकासँग समन्वय बैठक बस्ने निर्णय समेत कार्यक्रम समितिले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ