राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यमा रबेन्द्र विक्रम शाह नियुक्त, नीति निर्माणमा युवाको आवाज बलियो हुने अपेक्षा

काठमाडौँ।नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यमा युवा अभियन्ता रबेन्द्र विक्रम शाहलाई नियुक्त गरेको छ। विगत एक दशकभन्दा लामो समयदेखि युवा सशक्तीकरण, नेतृत्व विकास र सामाजिक रूपान्तरणका क्षेत्रमा अनवरत क्रियाशील शाहको नियुक्तिलाई सरोकारवालाहरूले ‘उपयुक्त व्यक्ति, उपयुक्त स्थान’का रूपमा ग्रहण गरेका छन्।

प्राज्ञिक रूपमा व्यवस्थापन संकाय (एमबीए) मा विश्वविद्यालयमै सर्वोत्कृष्ट नतिजा (University Topper) हासिल गरेका शाहले आफ्नो शैक्षिक दक्षतालाई व्यवहारिक सामाजिक अभियानसँग जोड्दै आएका छन्। उनको यो नियुक्तिसँगै परिषद्को नीति निर्माण र कार्यान्वयन पक्षमा प्राज्ञिक तथा अनुभवी युवाको हस्तक्षेप बढ्ने अपेक्षा गरिएको छ।

शाहले यसअघि जेसिज (JCI), एमनेस्टी इन्टरनेसनल नेपाल, नेपाल युवा परिषद्, युवा गैरसरकारी संस्था महासंघ र लायन्स क्लबजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ–संस्थाहरूमार्फत नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। विशेषगरी युवाहरूको क्षमता अभिवृद्धि, उद्यमशीलता विकास, मानव अधिकार र सुशासनका क्षेत्रमा उनले पुर्‍याएको योगदान प्रशंसनीय रहेको छ। उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको युवा आन्दोलन र नीतिगत बहसहरूमा सशक्त उपस्थिति जनाउँदै आएका छन्।

नवनियुक्त बोर्ड सदस्य शाहले आफ्नो जिम्मेवारीलाई युवा पुस्ताको विश्वास र दायित्वका रूपमा लिएको बताएका छन्। नियुक्तिपछि प्रतिक्रिया दिँदै उनले भने, “राष्ट्रिय युवा परिषद्को बोर्ड सदस्यको जिम्मेवारी पाउनु मेरो लागि सम्मान मात्र नभई ठूलो दायित्व पनि हो। म मेरो डेढ दशक लामो अनुभव र सीपलाई उपयोग गर्दै युवाको आवाजलाई नीतिगत तहमा स्थापित गर्न तथा समावेशी र सक्षम युवा पुस्ता निर्माणका लागि पूर्ण इमान्दारिताका साथ काम गर्नेछु।”

शाहको प्रवेशले सरकारी निकाय र नागरिक समाजबीचको सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। युवाका मुद्दालाई केवल नारामा सीमित नराखी नतिजामुखी कार्यक्रममार्फत सम्बोधन गर्न र युवामैत्री नीति निर्माणमा उनको अनुभव कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ