गगन नेतृत्व कांग्रेसको नयाँ नेतृत्वमा सुदूरपश्चिमको बलियो उपस्थिति: सह–महामन्त्री स्नेहीसहित १० नेता केन्द्रीय समितिमा

धनगढी। गगन थापा नेतृत्वको नेपाली कांग्रेसको हिजो सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा गठित नयाँ केन्द्रीय कार्यसमितिमा सुदूरपश्चिम प्रदेशले महत्त्वपूर्ण स्थान ओगटेको छ। नवनिर्वाचित कार्यसमितिमा एक पदाधिकारीसहित सुदूरपश्चिमका १० जना प्रभावशाली नेताहरू अटाउन सफल भएका छन्, जसले केन्द्रीय राजनीतिमा यस क्षेत्रको प्रभावलाई पुनः पुष्टि गरेको छ।

सुदूरपश्चिमबाट पदाधिकारी तहमा बझाङका युवा नेता प्रकाश रसाइली स्नेहीले बाजी मार्नुभएको छ। उहाँ नेपाली कांग्रेसको सह–महामन्त्री पदमा चयन हुनुभएको हो। स्नेहीको यो उदयलाई सुदूरपश्चिम कांग्रेसमा पुस्तान्तरण र नयाँ नेतृत्वको आगमनका रूपमा हेरिएको छ।

यसैगरी, खुला केन्द्रीय सदस्यतर्फ डोटीबाट भरत खड्का, बाजुराबाट जनकारज गिरी र बझाङका जगत जोशीले केन्द्रीय समितिमा स्थान सुरक्षित गर्नुभएको छ। पहाडी जिल्लाहरूबाट भएको यो प्रतिनिधित्वले त्यस क्षेत्रको विकास र पार्टी संगठनमा महत्त्वपूर्ण अर्थ राख्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमको राजनीतिक केन्द्र मानिने कैलाली जिल्लाबाट सर्वाधिक चार जना नेताहरू केन्द्रीय सदस्य बन्न सफल भएका छन्। जसमा सुदूरपश्चिम प्रदेश महिला कोटाबाट निपा चोख्याल र प्रदेश खुलातर्फ हिमबहादुर रावल चयन हुनुभएको छ। समावेशी राजनीतिको अभ्यासस्वरूप थारू महिलातर्फ सुनिता राना र खस–आर्य महिलातर्फ सम्झना खत्रीले कैलालीबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नुहुनेछ।

यस्तै, बैतडीबाट नरेन्द्रप्रसाद भट्टले केन्द्रीय सदस्यको जिम्मेवारी पाउँदा कञ्चनपुरबाट सन्तोषी साउँद ऐर पनि केन्द्रीय कार्यसमितिमा समेटिनुभएको छ। थापा नेतृत्वको यो नयाँ टिममा भूगोल र समावेशितालाई ध्यानमा राख्दै सुदूरपश्चिमका नेताहरूलाई समेटिएपछि यहाँका कार्यकर्तामा उत्साह थपिएको छ। नवनिर्वाचित कार्यसमितिले पार्टीलाई थप गतिशील बनाउने अपेक्षा सुदूरपश्चिमका आम कार्यकर्ताले राखेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ