कञ्चन आवाज संवाददाता | बेलौरी, कञ्चनपुर। ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले सांस्कृतिक कार्यक्रमहरूलाई केवल मनोरन्जनमा सीमित नराखी बौद्धिक बहस र ज्ञान निर्माणको थलोका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । बेलौरी नगरपालिका–५, सुदर्शनपुरस्थित श्री बागेश्वरी आधारभूत विद्यालयको प्रांगणमा आयोजित ‘माघ मिलन बृहत सांस्कृतिक कार्यक्रम–२०८१’ लाई सम्बोधन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो । सोही अवसरमा उहाँले बेलौरी प्रहरी कार्यालय परिसरमा सर्वसाधारणका लागि ‘पब्लिक लाइब्रेरी’ (सार्वजनिक पुस्तकालय) स्थापना गर्ने महत्वपूर्ण घोषणा समेत गर्नुभयो ।
थारु सम्वत् २६४९ तथा माघी पर्वको अवसरमा सुदर्शनपुर गाउँद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै निरीक्षक चौधरीले मञ्चमा हुने सांगीतिक प्रस्तुतिले युवाहरूको वृत्ति विकासमा सघाउने विश्वास व्यक्त गर्दै अब यस्ता सांस्कृतिक मञ्चहरू पुस्तक विमोचन, साहित्यिक चर्चा र गहन वैचारिक बहसका माध्यम पनि बन्नुपर्नेमा जोड दिनुभयो । युवापुस्तालाई सिर्जनशील बनाउन र भविष्य उज्वल बनाउन नाचगानसँगै पठन संस्कृतिको विकास अपरिहार्य रहेको उहाँको तर्क थियो ।
कार्यक्रममा बोल्दै निरीक्षक चौधरीले प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप सुमधुर बनाउन र समाजमा ज्ञानको उज्यालो छर्न प्रहरी कार्यालयभित्रै पुस्तकालय निर्माणको पहल थालिएको जानकारी दिनुभयो । पाठ्यक्रमका पुस्तकभन्दा बाहिरको ज्ञान आर्जन गर्न चाहने विद्यार्थी तथा बौद्धिक वर्गका लागि यो पुस्तकालय एक साझा चौतारी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले बाहिरी ज्ञानका पुस्तक पढ्ने इच्छा भएका तर स्रोत नपाएकाहरूका लागि प्रहरीले एउटा उपयुक्त ‘प्लेटफर्म’ तयार गर्न लागेको बताउनुभयो । उक्त पुस्तकालय निर्माणका लागि बेलौरी नगरपालिकाका वडाध्यक्षहरू, विशेष गरी वडा नम्बर ५ का वडाध्यक्षसँग समन्वय भइरहेको र आर्थिक स्रोत जुट्ने क्रममा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
बेलौरी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयको प्रवर्द्धनमा सम्पन्न उक्त कार्यक्रममा “हमार समुदाय के अग्रज हुकन सम्मान, शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि ओ संस्कृति के विकास म उत्प्रेरणा जगैना हमार अभियान” भन्ने मूल नारासहित थारु समुदायको मौलिक भेषभूषा र कला संस्कृति प्रस्तुत गरिएको थियो ।






