केशव थापा, महेन्द्रनगर (कञ्चनपुर) ।कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मञ्चमा सञ्चालित ‘घुसुडी महोत्सव’ मा प्रशासनको प्रतिबन्धका बाबजुद जुवाजन्य गतिविधि र जोखिमपूर्ण खेलहरू खुलेआम सञ्चालन भइरहेको पाइएको छ। पुस २९ गतेदेखि जारी उक्त महोत्सवमा सरकारी निर्देशनको उल्लङ्घन हुँदासमेत स्थानीय प्रशासनले प्रभावकारी अनुगमन नगरेको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।
महोत्सव स्थलमा नेपाल सरकारद्वारा प्रतिबन्धित सट्टाबाजी, जुवाजन्य खेल तथा उच्च जोखिमयुक्त ‘मौतका कुवा’ निर्बाध रूपमा सञ्चालन भइरहेका छन्। महोत्सव सुरु भएयता यस्ता गैरकानुनी गतिविधिबारे पटक पटक प्रमुख जिल्ला अधिकारी मदन कोइराला र जिल्ला प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीलाई जानकारी गराउँदा पनि जिम्मेवार निकाय मौन बसेको स्थानीयको आरोप छ। प्रशासन र प्रहरी स्रोतले त्यस्ता गतिविधि बन्द गराइसकिएको दाबी गरे पनि महोत्सव परिसरमा ती खेलहरू चलिरहेको प्रत्यक्षदर्शीहरू बताउँछन्। प्रमुख जिल्ला अधिकारी स्वयंले उद्घाटन गरेको महोत्सवमा नै गैरकानुनी कार्य हुनु विरोधाभासपूर्ण रहेको भन्दै स्थानीयले प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
यसैगरी, महोत्सवभित्र बिक्री वितरण भइरहेका खाद्यवस्तु अखाद्य र गुणस्तरहीन हुँदा पनि सम्बन्धित निकायबाट कुनै अनुगमन भएको छैन।
महोत्सवमा भइरहेका यी अनियमितताबारे प्रतिक्रिया लिन खोज्दा आयोजक समितिका सदस्य करन पालले “यसबारे पछि कुरा गर्ने” भन्दै पन्छिन खोजेको बुझिएको छ। गैरकानुनी सट्टाबाजी, प्रतिबन्धित खेल र साँस्कृतिक विकृति तत्काल नरोके कडा प्रतिवादमा उत्रने चेतावनी दिँदै स्थानीयले नियमनकारी निकायको उदासिनताप्रति गम्भीर प्रश्न खडा गरेका छन्।





