जनकपुरधाम। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताको जिम्मेवारी सम्हालेलगत्तै मधेश झरेका बालेन शाहको स्वागतमा जनकपुर विमानस्थलमा अनियन्त्रित भीड जम्मा हुँदा विमानस्थलको भौतिक संरचनामा क्षति पुगेको छ। आइतबार अपरान्ह रास्वपा सभापति रवि लामिछानेसहित जनकपुर ओर्लिएका बालेनलाई हेर्न र स्वागत गर्न उपस्थित हजारौं समर्थकको धकेलाधकेलले विमानस्थलको प्रस्थान कक्षको सिसाको ढोका फुटेको हो।
आइतबार मात्रै काठमाडौं महानगरको नेतृत्वबाट अलग भई सक्रिय दलीय राजनीतिमा होमिएका शाहको यो पहिलो सार्वजनिक राजनीतिक यात्रा हो। उनी ‘घण्टीघर’ बाट सिधै जनकपुर प्रस्थान गरेका थिए। विमानस्थल परिसरमा रास्वपाका कार्यकर्ता र शुभेच्छुकहरूको बाक्लो उपस्थितिका कारण सुरक्षाकर्मीलाई भीड नियन्त्रण गर्न हम्मे-हम्मे परेको थियो। समर्थकहरूले बालेन र रविको पक्षमा नाराबाजी गर्दै अगाडि बढ्न खोज्दा भएको ठेलमठेलमा विमानस्थलको सिसाको ढोका फुटेको प्रत्यक्षदर्शीले बताएका छन्।
सो क्रममा अनियन्त्रित भीडका कारण बालेन शाह र रवि लामिछाने केही समय विमानस्थल भित्रै रोकिन बाध्य भएका थिए। विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिने क्रममा सुरक्षा घेरा तोड्दै समर्थकहरू नजिक पुग्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो। स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरे पनि बालेनप्रतिको आकर्षण र ‘क्रेज’ का कारण व्यवस्थापन फितलो देखिएको थियो।





