धरान।काठमाडौँ महानगरका मेयर बालेन शाहले राजीनामा दिएको केही समय नबित्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) ले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारीस्वरूप उनले आइतबार पदत्यागको घोषणा गरेका हुन्।
स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय तहमा वर्चस्व जमाएका दुई प्रमुख हस्तीहरूले एकै दिन राजीनामा दिएपछि देशको राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ। साम्पाङले नेपालको संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुख पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। स्थानीय तहमा आफ्ना कार्यशैली र ‘श्रम संस्कृति’ का कारण चर्चामा रहेका साम्पाङ अब संघीय संसदको यात्रा तय गर्न तम्सिएका छन्।
उनी सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन्। यसअघि आजै काठमाडौँ महानगरका प्रमुख बालेन शाहले पनि संसदीय चुनावमा भाग लिनका लागि पदबाट राजीनामा दिएका थिए। दुवै नेताले स्थानीय सरकारको अनुभवपछि अब राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्ने रणनीति लिएको देखिन्छ।
स्थानीय तहको नेतृत्व छाडेर संघीय चुनावमा होमिनुले यी स्वतन्त्र नेताहरूले राष्ट्रिय नीति निर्माण तहमा आफ्नो प्रभाव विस्तार गर्न खोजेको प्रष्ट हुन्छ। बालेन र हर्कको यो कदमले पुराना राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा कडा चुनौती थपिने अनुमान गरिएको छ।





