बेलौरी, कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कञ्चनपुर जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको नाम अन्तिम रूपमा टुंगो लगाएको छ। आइतबार राति राजधानीमा सम्पन्न पार्टीको उच्चस्तरीय बैठकले आगामी निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ का उम्मेदवारहरूको चयन प्रक्रिया सम्पन्न गरेको हो।
पार्टी सचिवालय स्रोतबाट ‘कञ्चन आवाज’ लाई प्राप्त जानकारी अनुसार, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट युवा नेता जनक सिंह धामीलाई उम्मेदवार बनाउने निर्णय भएको छ। बेलौरी लगायत दक्षिणी क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रमा धामीको उम्मेदवारीलाई महत्वका साथ हेरिएको छ। यसैगरी, पार्टीले क्षेत्र नम्बर २ मा दिपक बोहरा र क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्र सिंह महतालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।
पार्टी नेतृत्वले उम्मेदवार चयन गर्दा व्यक्तिको क्षमता, कार्यकुशलता र जनस्तरमा रहेको लोकप्रियतालाई मुख्य आधार बनाएको जनाएको छ। स्मरणीय रहोस्, कञ्चनपुर क्षेत्र नम्बर २ का लागि दिपक बोहराको नाम भने पार्टीले यसअघि नै तय गरिसकेको थियो। बाँकी दुई क्षेत्रको निर्णयसँगै अब रास्वपा कञ्चनपुरमा पूर्ण तयारीका साथ चुनावी मैदानमा उत्रिएको छ।
उम्मेदवारहरूको नामावली औपचारिक रूपमा सार्वजनिक भएसँगै कञ्चनपुरको राजनीतिक वृत्तमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। प्रमुख दलहरूले आफ्ना उम्मेदवार खडा गरिरहेको अवस्थामा रास्वपाको यो निर्णयले जिल्लाको चुनावी समीकरणमा नयाँ तरङ्ग पैदा गरेको छ। तीनैजना उम्मेदवारहरू अब सशक्त रूपमा प्रचारप्रसार र जनसम्पर्कमा जुट्ने अपेक्षा गरिएको छ।





