काठमाडौ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले उम्मेदवारी नदिने घोषणा गरेका छन्। पार्टीभित्र विकसित पछिल्ला राजनीतिक घटनाक्रमका कारण निवर्तमान कार्यवाहक सभापति समेत रहेका खड्का चुनावी दौडबाट बाहिरिने निष्कर्षमा पुगेका हुन्।
सुर्खेत क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिसमा परेका खड्काले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय लिएको उनी निकट स्रोतले पुष्टि गरेको छ। यो निर्णयले कांग्रेसको कर्णाली प्रदेशको राजनीतिमा ठूलो तरंग ल्याएको छ भने केन्द्रमा पनि यसको प्रभाव पर्ने देखिन्छ।
नेता खड्काले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला जस्तोसुकै आए पनि आफू पार्टीलाई एकताबद्ध बनाउन सक्रिय रहने बताएका छन्। पद र शक्तिभन्दा पार्टीको आन्तरिक एकतालाई प्राथमिकतामा राखेर उनले यो कदम चालेको विश्लेषण गरिएको छ। सुदूरपश्चिम र कर्णालीका कांग्रेस कार्यकर्ताहरूमाझ खड्काको यो ‘त्याग’ को चर्चा सुरु भएको छ।
यो कदमले कांग्रेसभित्रको गुटबन्दी अन्त्य गर्न कत्तिको मद्दत पुग्छ, त्यो भने हेर्न बाँकी नै छ। तर, एक प्रभावशाली नेताको बहिर्गमनले चुनावी समीकरणमा नयाँ मोड ल्याउने निश्चित छ।





