बेलौरी, कञ्चनपुर
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मुलुकको आर्थिक संकुचनलाई चिर्दै आगामी पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने र वार्षिक ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने मार्गचित्र सार्वजनिक गरेको छ। पार्टीले देशभरको विकास र सुशासनलाई केन्द्रमा राख्दै आफ्नो आगामी रणनीतिक योजना अघि सारेको हो।

नेकपाले सार्वजनिक गरेको प्रतिबद्धतामा विद्यमान आर्थिक चुनौतीहरूलाई समाधान गर्न कृषि, ऊर्जा र पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्रमुख आधार बनाइएको छ। पार्टीले आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदरलाई १० प्रतिशतभन्दा माथि पुर्याउने र हालको बहुआयामिक गरिबीलाई ५ प्रतिशतमा झार्ने संकल्प गरेको छ। यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका १ लाख युवालाई उद्यमी बनाउन विशेष सहुलियत र प्याकेज ल्याइने योजना समेत समेटिएको छ।
राजनीतिक सुधार र सुशासनका सवालमा पार्टीले ‘जेन–जी’ (नयाँ पुस्ता) को भावनालाई सम्बोधन गर्दै शासकीय स्वरूप र निर्वाचन प्रणालीमा परिमार्जन गर्ने प्रस्ताव गरेको छ। वर्तमान निर्वाचन प्रणाली खर्चिलो र भ्रष्टाचारको जननी भएको ठहर गर्दै नेकपाले पूर्ण डिजिटल प्रशासन (फेसलेस र पेपरलेस) मार्फत भ्रष्टाचार शून्य समाजको निर्माण गर्ने दाबी गरेको छ।
विशेष गरी भ्रष्टाचार नियन्त्रणका लागि पार्टीले ‘उच्च स्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने र सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी अवैध ठहरिएमा राष्ट्रियकरण गर्ने कडा नीति लिने जनाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने प्रस्ताव पनि पार्टीको मार्गचित्रमा उल्लेख छ।
पार्टीका नेताहरूले मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन निजी क्षेत्रसँगको सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै वैदेशिक लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यो योजनाले युवा पलायन रोक्न र स्वदेशमै उत्पादनमूलक उद्योगहरूको विकास गर्न कोशेढुङ्गा सावित हुने विश्वास लिइएको छ।






