बेलौरी, कञ्चनपुर।
नेपाली कांग्रेस कञ्चनपुरले आसन्न निर्वाचनलाई लक्षित गर्दै आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विपक्षी दलका उम्मेदवारहरूको सामाजिक सञ्जालमा हुने गतिविधिमा संलग्न नहुन र आफ्नै वडामा केन्द्रित भएर प्रचारप्रसारमा लाग्न कडा निर्देशन जारी गरेको छ ।
पार्टीको अनुशासन र चुनावी रणनीतिलाई प्रभावकारी बनाउने उद्देश्यले कांग्रेस कञ्चनपुरले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । जिल्ला सचिव भीम भट्टद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पार्टीका उम्मेदवार बाहेक अन्य दलका उम्मेदवारहरूको पक्षपोषण हुने गरी कुनै पनि अभिव्यक्ति नदिन सचेत गराइएको छ । विशेषगरी सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतका प्लेटफर्ममा विपक्षीका पोस्टहरूमा ‘लाइक’, ‘कमेन्ट’ वा सेयर गरेर उनीहरूको प्रचारप्रसारमा सहयोग पुग्ने कार्य नगर्न कार्यकर्ताहरूलाई स्पष्ट पारिएको छ ।
पार्टीले आफ्ना कार्यकर्ताहरूलाई उम्मेदवारको पछि लागेर भिड जम्मा गर्नुभन्दा आ–आफ्नो वडा र टोलमा सक्रिय रहन आग्रह गरेको छ । उम्मेदवारको पछि लाग्ने परिपाटीले स्थानीय बासिन्दासँगको छलफल, विचार आदानप्रदान र सहजीकरणमा बाधा पुग्ने ठहर गर्दै जिल्ला कार्यसमितिले यस्तो निर्णय लिएको हो । विज्ञप्तिमा भनिएको छ, “आ–आफ्नो टोल वडा छोडेर उम्मेदवारको पछि–पछि लाग्ने परम्पराले स्थानीयबासीसँग छलफल, विचार आदानप्रदान तथा सहजीकरण कार्यमा असहजता उत्पन्न हुन जाने भएकाले आ–आफ्नो वडामा केन्द्रित भई सक्रिय हुन समस्त पार्टीका साथीहरूलाई अनुरोध गरिन्छ ।”
साथै, कुनै विशेष आवश्यकता परी आफ्नो वडा भन्दा बाहिर वा अन्य क्षेत्रमा जानुपर्ने अवस्था सिर्जना भएमा पार्टीको सम्बन्धित सचिवालयलाई पूर्व जानकारी गराएर मात्र जान पनि निर्देशन दिइएको छ । जिल्ला नेतृत्वले पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई अनुशासित भई आ–आफ्नो कार्यक्षेत्रमा खटिन र कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन जनमत सिर्जना गर्न अपिल गरेको छ ।
यो निर्देशनले निर्वाचनको मुखमा कार्यकर्ताहरूलाई डिजिटल प्लेटफर्ममा संयमित बनाउनुका साथै ग्रास रुट अर्थात् तल्लो तहमा पुगेर संगठन विस्तार र मत संरक्षणमा केन्द्रित गर्न खोजेको देखिन्छ । सुदूरपश्चिममा निर्वाचनको सरगर्मी बढिरहँदा दलहरूले आफ्ना कार्यकर्तालाई यसरी आन्तरिक अनुशासनमा बाँध्ने प्रयासलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।






