बेलौरी, कञ्चनपुर
सुदूरपश्चिमका गौरव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट जगतमा अर्को महत्त्वपूर्ण फड्को मारेका छन् । बुधबार सम्पन्न पाकिस्तान सुपर लिग (पीएसएल) को अक्सनमा ऐरीलाई इस्लामाबाद युनाइटेडले ६० लाख पाकिस्तानी रुपैयाँ (करिब ३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ । यो समाचारले कञ्चनपुर लगायत समग्र सुदूरपश्चिम प्रदेशमा खुसीको सञ्चार गराएको छ ।
नेपाली क्रिकेटमा ‘टाइगर’ उपनामले चिनिने ऐरीको यो सफलता उनी र नेपाली क्रिकेट दुवैका लागि ऐतिहासिक अवसर हो । इस्लामाबाद युनाइटेडले उनलाई आगामी सिजनका लागि आफ्नो टोलीमा भित्र्याएको हो । टी–२० फर्म्याटमा विश्वकै उत्कृष्ट अलराउण्डरहरूको सूचीमा दरिएका ऐरीको आगमनले इस्लामाबादको मध्यक्रमको ब्याटिङ र फिल्डिङ थप मजबुत हुने अपेक्षा गरिएको छ । हाल उनी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा छैटौँ स्थानमा छन् भने ब्याटिङ र बलिङ दुवैतर्फ ७१ औँ स्थानमा कायम छन् ।
दीपेन्द्रको नेतृत्व क्षमता र खेल कौशलको प्रशंसा घरेलु लिगमा पनि हुँदै आएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको कप्तानी सम्हाल्दै उनले टोलीलाई दुई पटक फाइनलसम्म पुर्याइसकेका छन् । उनको कप्तानी र व्यक्तिगत प्रदर्शनले सुदूरपश्चिमको क्रिकेट माहोललाई उकास्न महत्त्वपूर्ण भूमिका खेलेको छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा उनको यो आबद्धताले सुदूरपश्चिमका उदीयमान खेलाडीहरूलाई पनि ठूलो हौसला प्रदान गर्ने निश्चित छ ।
आगामी मार्च महिनाको अन्त्यतिरबाट सुरु हुने पाकिस्तान सुपर लिगमा आठ वटा टोलीहरूको सहभागिता रहनेछ । विश्वस्तरीय खेलाडीहरू सम्मिलित यो लिगमा दीपेन्द्रको सहभागिताले नेपाली खेलाडीहरूको क्षमता विश्वसामु थप उजागर हुने विश्वास लिइएको छ । उनको यो उपलब्धिले सुदूरपश्चिम प्रदेशको खेल क्षेत्रको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन कोसेढुङ्गा सावित हुने देखिन्छ ।





