उग्रतारा बाल विद्यालयकाे वृहत् ‘फुड फेस्टिभल २०८२’

मीरा श्रेष्ठ,
शान्तिपुर, बेलौरी, कञ्चनपुर

आज बेलौरीको शान्तिपुर स्थित ‛श्री उग्रतारा बाल विद्यालयमा वृहत् फुड फेस्टिभल २०८२’ सम्पन्न भएको छ । कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागितामा विद्यालय अन्तर्गतका समुहहरु ‘रेड हाउस’, ‘ग्रिन हाउस’, ‘येल्लो हाउस’ र ‘ब्लु हाउस’ गरि कुल ४ ओटा समुहको स्टलमार्फत् सुदूरपश्चिमका स्थानीय परिकारहरुको प्रदर्शनका साथ सो फेस्टिभल आयोजना गरिएको हो ।

सो फुड फेस्टिभलमा स्थानीय तथा सुदूरपश्चिमका परिकारहरुको स्वादका अतिरिक्त आधुनिक प्रकारका परिकारहरुको समेत संयोजन रहेको थियो ।

विद्यार्थीहरुलाई स्थानीय जीवनशैलीसँग सक्दो नजिक लाने कोशिस अन्तर्गत खाना बनाउन परम्परागत इन्धनको रुपमा चुल्होको प्रयोगबतथा थाल र कचौराको रुपमा सालको पात र दुना टपरी लगायत प्राकृतिक स्रोतको उपयोग गरिएको थियो ।

साँस्कृतिक नृत्य लगायत विभिन्न रचनात्मक खेल तथा विद्यार्थीहरुबाट प्रेरक कथनहरुको प्रस्तुति र अभिभावकहरुको बेजोडको उपस्थितीले फुड फेस्टिभलको माहोल अत्यन्तै मनमोहक बनाएको थियो ।

त्यस्तै परिकारको मूल्य सुची सुलभ रहेको हुदा अभिभावकहरु निकै खुशी र सकरात्मक प्रतिक्रिया रहेको थियो ।

व्यवहारिक शिक्षा पद्धति अन्तर्गत विद्यार्थीको व्यवसायिक सीप विकास र स्थानीय उत्पादन प्रक्रिया देखि लिएर पाक शिक्षा तथा बजार अर्थतन्त्रको वातावरण लगायत स्वस्थ परिकार उपभोगमा समुदाय, व्यापारी र ग्राहकहरुको समेत के भूमिका रहन्छ त भन्ने विषयमा आधारित रहि सो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक केशव सिंह विष्टले बताउनुभयो ।

‟विद्यार्थीहरुमा सञ्चार सीप, बजारमा आफ्नो उत्पादन बिक्रि गर्ने रचनात्मक उपाय, वित्तिय शिक्षा, व्यवस्थापन पक्ष, नेतृत्वसीप आर्जनमा सहयोग र सामाजिक सम्बन्धबारे व्यवहारिक शिक्षा प्रदान गर्ने उद्धेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो”, उहाँले बताउनुभयो ।

फुड फेस्टिभलमा सहभागी हुनुभएका अभिभावक शिव प्रसाद अधिकारीले सो कार्यक्रमको प्रशंसा गर्दै भन्नुभयो, ‟आज म ५० वर्षको उमेर हुदै गर्दा शिक्षा सैद्धान्तिक मात्र हैन व्यवहारिक र व्यवसायिक हुनपर्छ भन्ने मान्यताको मान्छे र त्यो प्रत्यक्ष आज यहाँ देख्न पाएँ, धेरै खुशी लाग्यो ।

बच्चाहरुले पनि आमाबुबाले उनीहरुलाई कसरी विद्यालय पठाउनुहुन्छ, हामीले खाने खाना हाम्रो थालसम्म कसरी आईपुग्छ भन्ने कुरा थाहा पाउन जरुरी छ, जुन आजको कार्यक्रमले जानकारी पाए भनेर म विश्वस्त छु ।”


विद्यालयको ‘यल्लो हाउस’ स्टलबाट समुह टोलि कृतिका चन्दले कार्यक्रममा प्रत्यक्ष सहभागी भएर खानेकुरा पकाउने तरिका लगायत व्यवसाय कसरी गर्ने भन्ने शिक्षा आर्जन गरेको बताउनुभयो ।

‟आज हामीले स्टलमा साँधेको गुन्दु्रक, आलु परौठा, गुजिया, भेज अम्लेट र पानीपुरी राखेका थियौँ र सबै खानेकुरा बिक्रि पनि भयो, जसले हामीलाई थप उत्साहित बनाएको छ । स्टलमा आउनुभएका ग्राहकहरुले पनि राम्रो प्रतिक्रिया दिनुभयो र सुधार गर्नुपर्ने कुराहरु पनि बताउनुभयो । जेहोस् हामी आज निकै खुशी छौँ ।”

त्यस्तै ‘रेड हाउस’बाट रोवण विष्टले आफ्नो स्टलमा सुदूरपश्चिमको परिकार मासको रोटा, बटुक, आलु टिक्का, मःम, दही र कफी राखेका बताउनुभयो । ‟हामीले सोचेका थिएनौँ यस्तो बिक्रि हुन्छ भनेर, ४ बजेसम्म कार्यक्रम थियो तर ३ बजे नै खानेकुरा सबै सकिएर सामान ल्याउनै धाउधाउ भयो । हामीले त्यस्ते ५⁄६ हजार लगानी गरेका थियौँ होला तर मलाई लाग्छ हाम्रो १६ हजार जति नाफा भयो ।”

त्यसैगरि ‘ग्रिन हाउस’बाट स्मृति रानाले ढिक्री, गाजरको हलुवा, भेज रोल, थुक्पा, आलु चप लगायतका परिकार प्रदर्शनीमा राखेको बताउदै व्यापार गर्ने तरिका र पाक प्रक्रियामा अपनाउनपर्ने स्वच्छ र स्वस्थ अभ्यास लगायतको विषयमा सिक्ने अवसर पाएको जिकिर गर्नुभयो ।

‘ब्लु हाउस’बाट निशान्त गौतमले विद्यालय प्रशासनप्रति आभार व्यक्त गर्दै आफुजस्ता विद्यार्थीहरुमा प्रयोगात्मक शिक्षा प्रदान गरेकोमा खुशी लागेको बताउनभयो । ‟हाम्रो आजको मुनाफा लगभग ९ हजार जति भएको छ र स्टलमा आउनुभएका हाम्रा अभिभावक भनौँ या ग्राहकबाट पनि राम्रो प्रतिक्रिया पाएका छौँ”, उहाँको भनाई थियो ।

विद्यालयले वि.सं २०७३ सालदेखि फुड फेस्टिभल आयोजना गर्दै आएकोमा कोरोना कालमा भने सो कार्यक्रम स्थगित हुन पुगि पुनः सञ्चालनमा ल्याएको हाे ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ