बेलडाँडीका जनप्रतिनिधि र कर्मचारीबिचको विवाद उत्कर्षमा: उपाध्यक्षमाथि कारबाहीको माग

बेलडाँडी, कञ्चनपुर

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार गरेको घटनाप्रति कर्मचारीहरूले गम्भीर आपत्ति जनाएका छन्। आज फागुन १० गते उपाध्यक्षले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी अशिष्ट र अमर्यादित शब्द प्रयोग गर्दै गालीगलौज गरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी सो कार्यको भर्त्सना गरेका हुन्।

विज्ञप्तिमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सार्वजनिक प्रशासनको मर्यादा एवं आचारसंहिता विपरीत जनप्रतिनिधिबाटै यस्तो अशोभनीय व्यवहार हुनु अत्यन्त निन्दनीय र दुःखद रहेको उल्लेख गरिएको छ। यस्ता क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीबीचको आपसी सम्मान, समन्वय र व्यावसायिक सम्बन्धमा गम्भीर असर पुर्‍याउनुका साथै कर्मचारीहरूको मनोबल गिराउने र संस्थागत छविमा आँच पुग्ने ठहर गरिएको छ।

विवादको कारण स्पष्ट नभए पनि कर्मचारीहरूले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुन बमोजिम आवश्यक स्पष्टीकरण सोधी कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्। विज्ञप्ति मार्फत भविष्यमा यस्ता अमर्यादित र असहयोगपूर्ण व्यवहार नदोहोर्‍याउन तथा स्थानीय शासनका मूल्य-मान्यता र प्रशासनिक मर्यादाको सम्मान गर्न सबै जनप्रतिनिधि तथा सरोकारवाला पक्षलाई आग्रह गरिएको छ।

गाउँपालिकाको सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहप्रति आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पार्दै कर्मचारीहरूले प्रशासनभित्र मर्यादित कार्यवातावरणको सुनिश्चितता हुनुपर्नेमा जोड दिएका छन्। यस विषयमा सत्यतथ्य बुझ्न र प्रतिक्रिया लिन बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथसँग सम्पर्क गर्न खोज्दा उहाँसँग सम्पर्क हुन सकेन।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ