बेलौरी, कञ्चनपुर
कञ्चनपुरको पुनर्बास नगरपालिकामा निर्वाचन सुरक्षाका लागि खटिएका एक निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत विद्यालय मतदानस्थलमा सुरक्षा जिम्मेवारी सम्हालिरहेका ३५ वर्षीय मानसिंह रानाको निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार सोमबार राति कार्यस्थलमा खाना पकाउने क्रममा राना अचानक बेहोस हुनुभएको थियो। बेहोस भएलगत्तै उहाँलाई थप उपचारका लागि धनगढीस्थित निशर्ग अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा आज मंगलबार दिउँसो चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन्।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार मृतक राना केही समयदेखि उच्च रक्तचाप र मधुमेह जस्ता स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्थ्यो।





