दार्चुलामा एम्बुलेन्समार्फत पाइप बरामद, एम्बुलेन्सको गलत प्रयोग स्थानीय आक्रोशित 

दार्चुला, फागुन २०

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा एम्बुलेन्स प्रयोग गरी खानेपानीको पाइप ओसारपसार गरिएको घटनामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ।पनेबाज क्षेत्रबाट एम्बुलेन्समा राखिएको अवस्थामा खानेपानीका पाइप फेला परेका हुन्। एम्बुलेन्स चालक जयसिंह धामी र स्थानीय कल्याण सिंह धामीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार एम्बुलेन्समा तीन वटा क्वाइल पाइप बोकेको सूचना प्राप्त भएको थियो। तीमध्ये दुई वटा क्वाइल बीच बाटोमै बाँडिएको र एउटा मात्र प्रहरीले फेला पारेको प्रारम्भिक जानकारी छ।

उक्त सामग्री के प्रयोजनका लागि ओसारिएको हो भन्नेबारे स्पष्ट खुल्न बाँकी रहेको छ। यद्यपि, भोलि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै मतदाता प्रभावित पार्ने उद्देश्यले एम्बुलेन्सको प्रयोग गरिएको हुन सक्ने आशंका स्थानीयले व्यक्त गरेका छन्।

एम्बुलेन्स जस्तो आपतकालीन सेवामा प्रयोग हुने सवारी साधन अन्य कार्यमा प्रयोग गरिएको विषयले स्थानीयस्तरमा चासो र आलोचना बढाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ