काठमाडौ।
सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। अदालतले उक्त घटनामा संलग्न रहेको भनिएका उच्चपदस्थ व्यक्तिहरूमाथि जाहेरी दर्ता गरी कानुनी प्रक्रिया सुरु गर्न स्पष्ट निर्देशन दिएको हो।
पौडेलकी आमा दुर्गादेवी पौडेलले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यसअघि दर्ता गर्न इन्कार गरिएको जाहेरी ग्रहण गरी निष्पक्ष छानबिन सुनिश्चित गर्न आदेश दिएको छ।
विगतमा सरकारले उक्त घटनालाई भिडन्तको रूपमा व्याख्या गरे पनि राष्ट्रिय मानव अधिकार आयोगले गरेको विस्तृत अनुसन्धानले पौडेललाई नियन्त्रणमा लिएर गोली प्रहार गरिएको निष्कर्ष निकालेको थियो। आयोगले तत्कालीन समयमै दोषीहरूलाई कारबाही गर्न सिफारिस गरे तापनि राजनीतिक दबाब र प्रभावका कारण अनुसन्धान प्रक्रिया ओझेलमा परेको थियो





