काठमाडौं ।नेपाल राष्ट्र बैंकले चेक मार्फत हुने नगद कारोबारको सीमामा कडाइ गर्दै अब ५ लाख रुपैयाँभन्दा बढी नगद झिक्न नपाइने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले ५ लाख रुपैयाँभन्दा माथिको चेक जारी गर्दा अनिवार्य रूपमा ‘एकाउन्ट पेयी’ हुनुपर्ने नियम लागू गर्दै नगद भुक्तानीमा रोक लगाएको हो।
यसअघि बैंक तथा वित्तीय संस्थाबाट चेक साटेर १० लाख रुपैयाँसम्म नगद झिक्न पाइने व्यवस्था रहेकोमा त्यसलाई घटाएर ५ लाख रुपैयाँमा सीमित गरिएको छ। सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा नगद कारोबार न्यूनीकरण गर्ने उद्देश्यले कारोबारको सीमा १० लाखबाट ५ लाखमा झारेको थियो। सोही निर्णय नेपाल राजपत्रमा प्रकाशित भएलगत्तै राष्ट्र बैंकले यसलाई कार्यान्वयनमा ल्याएको हो।
नयाँ व्यवस्था अनुसार अब कुनै पनि खातावालाले ५ लाख रुपैयाँभन्दा बढीको चेक काटेमा उक्त चेकको रकम सम्बन्धित व्यक्तिको खातामा मात्र जम्मा हुनेछ, काउन्टरबाट नगद प्राप्त गर्न सकिने छैन। वित्तीय अनुशासन कायम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यो नीतिगत परिवर्तन महत्त्वपूर्ण मानिएको छ।





