कञ्चनपुर, ५ असार । सुदूरपश्चिम प्रदेशमा विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल, नेपालले डोटीको जोरायल गाउँपालिका वडा नम्बर २, बुडरमा नयाँ विपद् व्यवस्थापन वेश स्थापना गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले एक विशेष समारोहका बीच उक्त वेशको उद्घाटन गर्नुभएको हो । यस नयाँ वेशको स्थापनासँगै सुदूरपश्चिम प्रदेशमा सशस्त्र प्रहरीको विशेषज्ञ विपद् व्यवस्थापन वेशको संख्या तीन पुगेको छ । यसअघि डडेल्धुरा सदरमुकाम र कैलालीको डुडेझारीमा यस्ता वेशहरू सञ्चालनमा आइसकेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक सुवेदीले विपद्को समयमा प्रत्येक पल उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । नवस्थापित वेशले यस क्षेत्रको पूर्वतयारी, उद्धार तथा राहत कार्यलाई थप तीव्र, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा तालिमप्राप्त गोताखोर तयारी अवस्थामा राखिएको र प्रदेशका सबै जिल्लाहरूमा तालिमप्राप्त जनशक्ति परिचालन गरिएको जानकारी दिँदै उहाँले सुरक्षा युनिट स्थापनासँगै त्यसलाई स्रोत-साधनयुक्त बनाउनु आवश्यक रहेकोमा जोड दिनुभयो । विपद् व्यवस्थापन स्थानीय र प्रदेश सरकारको साझा क्षेत्राधिकारभित्र पर्ने भएकाले सबै तहको उत्तिकै सहयोग र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।

नायव महानिरीक्षक सुवेदीले सशस्त्र प्रहरी बलले तयार पारेको समुदाय विपद् स्वयंसेवक र विपद् सूचकहरूलाई संस्थागत गर्दै सबै निकायले अपनत्व लिएर समन्वयात्मक रूपमा कार्य गर्न सके मात्र विपद् उद्धार कार्यले सार्थकता पाउने प्रष्ट पार्नुभयो । सोही अवसरमा विशिष्ट अतिथि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझाले नवनिर्मित वेशलाई स्रोत-साधनको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै स्थानीय सरकारले पूर्ण रूपमा समन्वयात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी बल, नेपालले सुदूरपश्चिमका विभिन्न पालिकाहरूमा समुदाय विपद् स्वयंसेवक तालिम तथा पानीजन्य विपद् सम्बन्धी सिमुलेसन (कृत्रिम घटना अभ्यास) निरन्तर सञ्चालन गर्दै आएको छ । यसै क्रममा गत जेठ २९ गते कैलालीको चिसापानीस्थित कर्णाली नदीमा सशस्त्र प्रहरीको संयोजनमा वृहत् सिमुलेसन अभ्यास समेत सम्पन्न भइसकेको छ ।

बुडरमा आयोजित उक्त उद्घाटन कार्यक्रममा जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना कुमारी बोहरा, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका अध्यक्षहरू, सुरक्षा निकायका उच्च पदाधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सञ्चारकर्मी, समाजसेवी, निर्माण व्यवसायी, समुदाय विपद् स्वयंसेवक, विपद् सूचक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो । भौगोलिक रूपमा विकट र प्राकृतिक विपद्को उच्च जोखिममा रहेको सुदूरपश्चिम क्षेत्रमा यो वेशको स्थापनाले आगामी मनसुनका समयमा हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्न र तत्काल राहत पुर्याउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ ।





