बेलौरी, कञ्चनपुर।
नेपाल विद्युत प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा निर्माण सम्पन्न भएको ३३/११ केभी क्षमताको पुनर्वास सबस्टेशन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सबस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रका करिब १८ हजार ग्राहकले लामो समयदेखि व्यहोर्दै आएको न्यून भोल्टेज र अनियमित विद्युत आपूर्तिको समस्या समाधान भई प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

यसअघि ठेक्का सम्झौता गरिएको निर्माण व्यवसायीले सिभिल कार्य मात्र गरेर आवश्यक इलेक्ट्रोमेकानिकल कार्य सम्पन्न नगरेपछि प्राधिकरणले उक्त ठेक्का सम्झौता रद्द गरेको थियो। ठेक्का रद्द भएपछि अन्योलमा परेको आयोजनालाई स्थानीय उपभोक्ताको व्यापक गुनासो र मागपछि गति दिइएको हो।

समस्याको गम्भीरतालाई ध्यानमा राख्दै नेपाल विद्युत प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले तत्काल वैकल्पिक व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिनुभएको थियो। सोही निर्देशनबमोजिम बेलौरी वितरण केन्द्रले प्राधिकरणसँग जगेडामा रहेको ट्रान्सफर्मरसहितका आवश्यक उपकरणहरू परिचालन गरी बाँकी निर्माण तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गरेको हो।
बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मतबहादुर बिसीले नयाँ सबस्टेशन सञ्चालनमा आएसँगै पुनर्वास र आसपासका क्षेत्रमा भरपर्दो तथा गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न सहज भएको जानकारी दिनुभयो। यस कार्यलाई सफल बनाउन नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेले विशेष अग्रसरता लिनुभएको थियो।
प्रादेशिक प्रमुख पाण्डेका अनुसार बेलौरी वितरण केन्द्रअन्तर्गतका हजारौँ ग्राहक यस सबस्टेशनबाट प्रत्यक्ष लाभान्वित हुने र यसले विद्युत आपूर्तिको गुणस्तरमा सुधार ल्याउनुका साथै भविष्यमा बढ्ने विद्युतको मागलाई समेत सहजै व्यवस्थापन गर्नेछ। यस नयाँ पूर्वाधारको सुरुवातसँगै कञ्चनपुरको दक्षिणी क्षेत्रको विद्युत आपूर्ति प्रणाली थप स्थिर र भरपर्दो हुने विश्वास लिइएको छ।





